तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा बोलेरो जिपमा ठोक्किँदा दुई जना युवाको मृत्यु

पोखरा । पोखरामा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा दुई जना युवाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ जिरो किलोमिटर नजिक शुक्रबार दिउँसो भएको दुर्घटनामा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

लु ३ च ५२७४ नम्बरको बोलेरो जिप सडकमा रोकेर राखिएको अवस्थामा ग २३ प १७१६ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा गम्भीर घाइते हुनु भएका स्कुटर चालक र सवार दुवै युवाको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा म्याग्दीको मंगला गाउँपालिका–दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै रघुगंगा गाउँपालिका–३ निवासी २६ वर्षीय मोहन परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले बताउनु भयो । विवेकलाई टाउको र आँखामा गम्भीर चोट लागेको थियो भने उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा दिउँसो ३ः५० बजे चिकित्सकले मृत घोषणा गर्नु भएको हो । उहाँको शवलाई दिउँसो ५ बजे आफन्तले सनाखत गर्नु भएको छ ।

त्यस्तै टाउकोमा चोट लागेका मोहनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएको थियो । अस्पतालमा परीक्षणका क्रममा दिउँसो ३ः१० बजे चिकित्सकले उहाँलाई मृत घोषणा गर्नु भएको थियो । उहाँको शवलाई आमा रूपा परियारले सनाखत गर्नु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक मुकुन्द सिग्देलको कमान्डमा १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले दुर्घटनामा संलग्न स्कुटर, बोलेरो जिप र बोलेरो चालक पोखरा महानगरपालिका–२८ कालिका निवासी ४८ वर्षीय अमृत बजगाईँलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button