चुहिने छानोमुनि बालबच्चाको भविष्य खोज्दै वीरमानको परिवार

रौतहट । पेटको रोगले थलिएको शरीर, परिवारको पेट पाल्नुपर्ने जिम्मेवारी र ओत लाग्ने सुरक्षित घरको अभाव। यी तीन समस्यासँग एकैसाथ जुधिरहेका छन्, रौतहटको चन्द्रपुर नगरपालिका–१ खिरखिरे बस्तीका ५१ वर्षीय वीरमान पाख्रिन ।
आफ्नो नाममा एक धुर जग्गासमेत नभएका वीरमानको परिवार अहिले बाँसको टाटी र खरको छानोले बनेको जीर्ण झुपडीमा बस्दै आएको छ। पेटको रोगले शरीर कमजोर बने पनि परिवारको छाक टार्न उनी दैनिक ज्यालादारीमा काम गर्न बाध्य छन्। बिरामी भएर आराम गर्नुपर्ने अवस्थामा समेत उनी जालीमा ढुङ्गा भर्ने काम गर्दै आएका छन् । वीरमानको परिवारमा ४१ वर्षीया श्रीमती दूतमाया घलान, छ वर्षीया छोरी र एक वर्ष पनि नपुगेका छोरा छन्। परिवारको मुख्य आम्दानीको स्रोत उनी नै हुन्। एक दिन काममा जान नसके परिवारलाई बिहान–बेलुकाको छाक टार्नसमेत समस्या हुने अवस्था छ ।
चन्द्रपुर नगरपालिका–१ पौराहीस्थित खिरखिरेको सुकुम्बासी बस्तीमा रहेको उनको झुपडी सुरक्षित आवासभन्दा पनि अस्थायी ओत लाग्ने ठाउँजस्तो छ। घरका चारैतिर लगाइएका बाँसका टाटी उक्किएका छन् भने कतिपय ठाउँमा भाँचिएका छन्। टाटीका प्वालबाट घामसँगै पानी र चिसो हावा पनि सहजै भित्र पस्छ ।
वर्षात्का बेला छानोबाट पानी चुहिने र टाटीका प्वालबाट पानी भित्र पस्ने हुँदा परिवारलाई घरभित्रै बस्न कठिन हुन्छ। घरभित्र रहेका सामान जोगाउने कि बालबालिकालाई पानीबाट बचाउने भन्ने चिन्ताले उनीहरूलाई सधैँ सताउने गरेको छ ।
घरमा सुत्न एउटा मात्रै खाट छ । नाबालक छोरालाई भुईँमै सुताउनुपर्ने बाध्यता छ । जाडो बढ्दै जाँदा बालबालिकालाई चिसोबाट कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ। घर मर्मत गर्ने, टाटी लगाउने र पानी नचुहिने छानो बनाउने आर्थिक क्षमता परिवारसँग छैन ।
वीरमानकी श्रीमती दूतमाया घलानका अनुसार श्रीमान् बिरामी भए पनि काममा नगए परिवार भोकै बस्नुपर्ने अवस्था छ। काखमा सानो बच्चा र घरमा छोरी भएकाले आफू पनि नियमित रूपमा काममा जान सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
‘श्रीमान् एक दिन काम गर्न जानुभएन भने हामीलाई भोकै बस्नुपर्ने अवस्था आउँछ । उहाँ बिरामी हुनुहुन्छ,’ तर पनि परिवारको पेट पाल्न काममा जानुपर्छ दूतमायाले भन्नुभयो ।
श्रीमानको स्वास्थ्य अवस्थाले आराम गर्नुपर्ने भए पनि परिवारको आर्थिक अवस्थाका कारण काममा जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । श्रीमानलाई उपचार गराएर आराम गराउने इच्छा भए पनि घरको चुलो बाल्ने चिन्ताले त्यो सम्भव हुन नसकेको उहाँले बताउनुभयो ।
वीरमानको परिवारलाई अहिले ठूलो घर वा महँगो सुविधा आवश्यक छैन। वर्षात्को पानी नचुहिने छानो, चिसो हावा नछिर्ने सुरक्षित कोठा र बालबालिकालाई न्यानो बनाएर सुताउन मिल्ने ओछ्यान नै उनीहरूको प्रमुख आवश्यकता हो ।
तराई–मधेसमा जाडो बढ्दै जाँदा वीरमानको परिवारको चिन्ता पनि थपिएको छ। घरका भित्तामा रहेका प्वालबाट चिसो हावा भित्रिने भएकाले नाबालक छोरा र सानी छोरीलाई जाडोबाट जोगाउन कठिन हुने देखिएको छ। आर्थिक अभावका कारण न्यानो कपडा र घर मर्मतको व्यवस्था गर्नसमेत परिवार असमर्थ छ ।
खिरखिरे बस्तीमा वीरमानको परिवारको अवस्था मात्रै यस्तो छैन । उनीहरूजस्तै अभाव र भूमिहीनताको समस्या भोगिरहेका करिब एक दर्जन परिवार त्यहाँ बसोबास गर्दै आएका छन्। कसैको घरको छानो जीर्ण छ भने कसैको बाँसको टाटी भत्किएको छ। अधिकांश परिवारलाई दैनिक गुजारा चलाउनसमेत कठिन रहेको छ ।
सरकारले भूमिहीन तथा विपन्न परिवारका लागि जग्गा व्यवस्थापन, सुरक्षित आवास र सामाजिक सुरक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्थानीय तहदेखि प्रदेश र संघीय सरकारले समेत विपन्न नागरिकको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। तर, खिरखिरे बस्तीका वीरमानजस्ता परिवार अझै आधारभूत आवास सुविधाबाट वञ्चित छन् ।
बिरामी शरीरले ज्यालादारी गरेर परिवार पालिरहेका वीरमानका लागि उपचारभन्दा पहिले दैनिक छाक टार्ने चिन्ता छ। श्रीमती दूतमायाका लागि श्रीमान्को स्वास्थ्य र बालबालिकाको भविष्यको चिन्ता उत्तिकै छ। बालबालिका भने सुरक्षित घर र न्यानो ओछ्यानको अभावबिच हुर्किरहेका छन् ।
भूमिहीन तथा विपन्न नागरिकका लागि राज्यले सञ्चालन गरेका आवास र सामाजिक सुरक्षाका कार्यक्रम वास्तविक आवश्यकतामा परेका परिवारसम्म कहिले पुग्ने भन्ने प्रश्न खिरखिरे बस्तीका बासिन्दाले उठाएका छन् । बिरामी शरीरले परिवारको पेट पाल्न सङ्घर्ष गरिरहेका वीरमानको परिवारलाई सुरक्षित आवासको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्