तपाईँ सुन्दै हुनुहुन्छः

दुई वर्षदेखि डडेल्धुरा अस्पतालमा सिटी स्क्यान सेवा बन्द, बिरामी अन्यत्र जान बाध्य

डडेल्धुरा । सुदूरपश्चिमका सात पहाडी जिल्लाका बिरामीका लागि प्रमुख उपचार केन्द्रका रूपमा रहेको डडेल्धुरा अस्पतालमा दुई वर्षदेखि सिटी स्क्यान सेवा बन्द हुँदा बिरामीले सास्ती भोग्नुपरेको छ ।

अस्पतालको महत्वपूर्ण स्वास्थ्य सेवामध्ये एक सिटी स्क्यान मेसिन बिग्रिएको दुई वर्ष बितिसक्दा पनि मर्मत हुन सकेको छैन । नयाँ मेसिन खरिदको प्रक्रिया अघि बढ्न नसक्दा सयौँ बिरामी आवश्यक परीक्षण सेवाबाट वञ्चित हुँदै आएका छन् ।

सिटी स्क्यान सेवा उपलब्ध नहुँदा बिरामीलाई अन्य अस्पतालमा रिफर गर्नुपर्ने अवस्था छ । यसको पछिल्लो उदाहरण हुन्, नवदुर्गा गाउँपालिका–१ सुनकोटका हरि भुल ।

तिहारको अघिल्लो दिन बिरामी भएर डडेल्धुरा अस्पताल भर्ना भएका भुलको सिटी स्क्यान सेवा उपलब्ध नहुँदा रोग पहिचान तथा उपचारमा समस्या भएको थियो । त्यसपछि उहाँलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा सिटी स्क्यान गराइएको थियो । उपचारमा ढिलाइ भएपछि त्यहाँबाट समेत रिफर गरिएका भुलको अहिले भारतको बरेलीमा उपचार भइरहेको परिवारले जनाएको छ ।

विडम्बना, भुल स्वयं डडेल्धुरा अस्पतालको आकस्मिक उपचार शाखामा कार्यरत कर्मचारीसमेत हुनुहुन्छ । आफ्नै कार्यस्थलमा आवश्यक परीक्षण सेवा नपाउँदा उहाँले समेत अन्यत्र जानुपर्ने अवस्था आएको परिवारको गुनासो छ ।

चिकित्सकले शरीरका भित्री अङ्ग, तन्तु, रक्तनली तथा हड्डीको अवस्था विस्तृत रूपमा परीक्षण गर्न सिटी स्क्यान प्रयोग गर्ने गर्छन् । मांसपेशी, हड्डी, पेट, क्यान्सर, आन्तरिक चोटपटक तथा मुटुसम्बन्धी समस्याको पहिचान र उपचारमा यसको महत्वपूर्ण भूमिका रहने स्वास्थ्यकर्मी जितराज भट्ट बताउनुहुन्छ ।

यति ठूलो अस्पतालमा सिटी स्क्यान सेवा नहुनु दुःखद भएको उहाँको भनाइ छ ।

हरि भुलजस्तै सयौँ बिरामी आवश्यक सेवा नपाएर तराईका निजी अस्पताल तथा भारतका महँगा अस्पतालमा उपचार गराउन बाध्य छन् ।

स्थानीय सामाजिक अभियन्ता नवराज धिक्त अस्पतालको आन्तरिक आर्थिक स्रोतको उचित व्यवस्थापन हुन नसक्दा आवश्यक उपकरण खरिदमा समेत समस्या देखिएको बताउनुहुन्छ । अस्पतालभित्र हुने आर्थिक अनियमितता र अनावश्यक खर्च नियन्त्रण गरी आन्तरिक स्रोतको सदुपयोग गर्न सके सिटी स्क्यानलगायत अन्य उपकरण खरिद गर्न सकिने उहाँको भनाइ छ ।

स्थानीय सञ्चारकर्मी टेकराज अवस्थी अस्पतालमा सिटी स्क्यानदेखि एक्सरे मेसिनसम्म पटकपटक बिग्रिने तर समस्या समाधानमा प्रभावकारी पहल नहुने गरेको बताउनुहुन्छ । अस्पताल प्रशासन र व्यवस्थापन समितिलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि बजेट अभावको जवाफ मात्रै पाउने गरेको उहाँको गुनासो छ ।

अस्पतालको सेवा प्रवाह कमजोर हुनुमा व्यवस्थापकीय कमजोरी पनि जिम्मेवार रहेको स्थानीयको आरोप छ । राजनीतिक भागबन्डामा कर्मचारी नियुक्ति, निर्माणका कोटेशन तथा औषधि र सर्जिकल सामग्री खरिदमा अनियमितताको विवादले अस्पतालको सेवा प्रभावित भएको स्थानीय समाजसेवी प्रकाश जैरु बताउनुहुन्छ ।

अस्पताललाई आवश्यक उपकरण खरिद गर्नुभन्दा कमिसन आउने क्षेत्रमा बढी ध्यान दिइँदा समस्या बढेको उहाँको आरोप छ । सुदूरपश्चिमको एकमात्र सङ्घीय अस्पतालको अवस्था सुधार गर्न सङ्घ तथा प्रदेशका जनप्रतिनिधिले पनि जिम्मेवारी लिनुपर्ने उहाँको भनाइ छ ।

अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त भएको झन्डै डेढ महिना बितिसक्दा पनि अपेक्षित सक्रियता देखिन नसकेको स्थानीयको गुनासो छ । अध्यक्ष त्रैलोक्य पाण्डेयसहितको समितिले अझै पूर्णता नपाएको र सदस्यहरूले समेत नियुक्तिपत्र बुझ्न बाँकी रहेको बताइएको छ ।

स्थानीयवासीले अस्पतालको सेवा सुधार, आवश्यक उपकरण खरिद तथा चिकित्सकको दरबन्दीअनुसार पदपूर्तिका लागि सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन् ।

यता, अस्पताल प्रशासनले भने सिटी स्क्यान मेसिन मर्मत गर्न २५ देखि ३० लाख रुपैयाँ खर्च लाग्ने तर त्यसबाट दीर्घकालीन समाधान नहुने जनाएको छ । नयाँ मेसिन खरिद गर्न १० करोड रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने अस्पतालको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सम्बन्धित विभागमा पटकपटक पत्राचार गरे पनि बजेट उपलब्ध नभएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाले बताउनुभयो ।

सिटी स्क्यान सेवा नहुँदा बिरामीलाई समस्या परेको आफूहरूलाई जानकारी भए पनि बजेट अभावका कारण नयाँ मेसिन खरिद गर्न नसकिएको उहाँको भनाइ छ ।

दुई वर्षदेखि अत्यावश्यक स्वास्थ्य सेवा बन्द हुँदा पनि समस्या समाधान हुन नसक्नुले अस्पतालको व्यवस्थापन र सरकारी निकायको जवाफदेहितामाथि प्रश्न उठाएको छ । अब पनि पहल हुन नसके डडेल्धुरासहित सुदूरपश्चिमका सात पहाडी जिल्लाका बिरामीले थप समयसम्म उपचारका लागि अन्यत्र धाउनुपर्ने अवस्था कायम रहने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button