दसौँ राष्ट्रिय खेलकुदमा गण्डकीबाट ७७९ जनाको सहभागी हुने

पोखरा । कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आफ्नो तयारी तीव्र पारेको छ । प्रतियोगितामा गण्डकी प्रदेशबाट ६ सय ५६ जना खेलाडीसहित ७ सय ७९ जनाको टोली सहभागी गराउने तयारी गरिएको प्रदेश खेलकुद परिषद् गण्डकीले जनाएको छ ।
यसपटक राष्ट्रिय खेलकुदमा समावेश ३२ खेलमध्ये कुस्तीबाहेक ३१ खेलमा गण्डकीको सहभागिता रहने प्रारम्भिक तयारी गरेको परिषद्का अधिकृत कर्मचारी तोपलाल भुषालले जानकारी दिनुभयो । खेलाडी छनोट प्रक्रिया सम्पन्न गरी राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली निर्माण गर्ने काम अघि बढाइएका छनोट भएका खेलाडीलाई प्रतिस्पर्धाका लागि तयार पार्न कात्तिक २७ गते शुक्रबारदेखि केही खेलको प्रदेशस्तरीय बन्द प्रशिक्षणसमेत सुरु गरिने भएको छ । प्रदेशबाट छनोट भएका खेलाडीलाई कम्तीमा १२ दिन बन्द प्रशिक्षणमा राखेर प्रतियोगिताका लागि तयारी गराउने योजना रहेको भुषालले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय तह, जिल्ला र प्रदेशस्तर हुँदै खेलाडी छनोट प्रक्रिया अघि बढाइएको छ । सुरुमा स्थानीय तहमा छनोट प्रतियोगिता सञ्चालन गरी त्यहाँबाट छनोट भएका खेलाडीलाई जिल्लास्तरीय प्रतिस्पर्धामा सहभागी गराइएको छ । जिल्लाबाट छनोट भएकाहरू प्रदेशस्तरीय छनोटमा सहभागी भएका छन् । चाडपर्वलगायतका कारण केही स्थानमा छनोट प्रक्रिया प्रभावित भए पनि चालु महिनाभित्र सबै प्रक्रिया पूरा गर्ने लक्ष्य राखिएको परिषद्ले जनाएको छ ।
प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गर्दै परिषद्ले आवश्यक खेलाडी छनोट तथा प्रतियोगिताको तयारी अघि बढाउन निर्देशन दिएको थियो । छनोट प्रक्रिया निर्धारित मापदण्डअनुसार पारदर्शी र व्यवस्थित बनाउन समेत आग्रह गरिएको छ । यसैबिच, दसौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको सहभागिता व्यवस्थापन, खेलाडी छनोट, प्रशिक्षण, खेल सामग्री तथा टोली परिचालन लगायतका कामका लागि प्रदेश खेलकुद परिषद्ले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयसँग ९ करोड रुपैयाँ बजेट माग गरेको छ । परिषद्का लेखा अधिकृत नीलकण्ठ ढकालका अनुसार प्रतियोगिताको तयारीका लागि आवश्यक बजेट व्यवस्थापन गर्न मन्त्रालयसमक्ष प्रस्ताव पेस गरिएको हो ।
यता राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दसौँ राष्ट्रिय खेलकुदको तयारीका लागि गण्डकी प्रदेशलाई ४९ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । उक्त रकममध्ये करिब ३५ लाख रुपैयाँ पेस्कीस्वरूप प्राप्त भइसकेको परिषद्ले जनाएको छ । यसअघि २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले ३२ स्वर्ण पदक जितेको थियो । कर्णाली प्रदेशमा मङ्सिर ८ देखि मङ्सिर २७ गतेसम्म विभिन्न खेलकुद प्रतियोगिताहरू हुदैछ ।








प्रतिक्रिया राख्नुहोस्