प्रधानमन्त्री शाहद्वारा भाइटीकाको शुभकामना

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले भाइटीकाको उपलक्ष्यमा आज शुभकामना दिनुहुदै दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयलाई अझै प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वाश व्यक्त गर्नुभएको छ ।
सामाजिक संजालमार्फत् प्रधानमन्त्री शाहले दिनुभएको शुभकामना:
आज यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीका। यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उहाँको निवासमा पुग्नुभएको थियो र यमुनाले दाजुलाई विधिपूर्वक टीका र पूजा गरी आदरसत्कार गर्नुभएको थियो। बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले यस दिन बहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिनुभएको विश्वास छ।
सोही विश्वासमा आज दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै श्रद्धापूर्वक पूजा गर्नुहुन्छ।दाजुभाइलाई दूबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने र विभिन्न मिष्ठान्न परिकार खुवाउने चलन छ। यसैगरी, दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा प्रदान गरी आशीर्वाद ग्रहण गर्नुहुन्छ।
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस्।
शुभकामना!







प्रतिक्रिया राख्नुहोस्