एनपिएलः पोखराद्वारा लुम्बिनीसामु ९८ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनायो । उसका लागि चमिका करुणारत्नेले २५, कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन जोडे ।
लुम्बिनीका लागि बलिङतर्फ रुबेन ट्रम्पलम्यानले ३, तिलक भण्डारीले २, शेर मल्ल, अभिषेश गौतम र कप्तान रोहित पौडेलले १/१ विकेट लिए ।
जारी संस्करणमा चहिलेसम्म लुम्बिनी लायन्स अपराजित छ । उसले दुई खेलमध्ये एकमा जित र एउटा खेलमा वर्षाका कारण अङ्क बाँडेको छ । पोखरा भने जितविहीन छ । उसले दुई खेल खेल्दा जित निकाल्न नसकेको हो । आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्सले २ रनको रोमाञ्चक जित निकालेको थियो ।
मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेता टोलीले रु एक करोड ५० लाख पुरस्कार प्राप्त गर्नेछ ।







प्रतिक्रिया राख्नुहोस्