लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त

रुपन्देही । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा रुपन्देहीका इन्जिनियर सन्तोष पाण्डेयलाई नियुक्त हुनुभएको छ ।
उहाँ तिलोत्तमा नगरपालिका मणिग्राम निवासी हुनुहुन्छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेयलाई कोषको सदस्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।
सरकारले गत वैशाख १९ गते जारी गरेको सार्वजनिक पदाधिकारीको विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि लुम्बिनी विकास कोषका पदाधिकारीसहित विभिन्न निकायका पदाधिकारी पदमुक्त भएका थिए । त्यसपछि गत असारमा कोषका १२ पदका लागि आवेदन आह्वान गरिएको थियो । सदस्य सचिव पदका लागि मात्रै २०९ जनाले आवेदन दिएका थिए । तर आवेदन प्रक्रियामा सहभागी नभएका पाण्डेयलाई सरकारले सदस्य सचिवमा नियुक्त गरेको हो । यसअघि कोषको सदस्य सचिवमा दीपक श्रेष्ठ कार्यरत हुनुहुन्थ्यो ।
प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको प्रमुख रहँदादेखि नै उहाँको सचिवालयमा निकट रहेर काम गरेका पाण्डेय पछिल्लो समय पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका प्रमुख सल्लाहकारका रूपमा कार्यरत हुनुहुन्थ्यो । प्राविधिक तथा संरचनागत इन्जिनियरिङ र सहरी व्यवस्थापनमा अनुभव हासिल गरेका पाण्डेयलाई सरकारले लुम्बिनीजस्तो महत्वपूर्ण धार्मिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण, व्यवस्थापन र विकासको जिम्मेवारी दिएको हो ।
लुम्बिनी विकास कोषको उपाध्यक्षमा केही दिनअघि गायिका तथा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा नियुक्त भएपछि विवाद उत्पन्न भएको थियो । उहाँको नियुक्तिको विरोधमा लुम्बिनी बचाउ महाअभियानका अभियन्तासहित स्थानीयले आन्दोलन गर्दै आएका छन् । आनीविरुद्ध सम्पत्ति शुद्धीकरण र नागरिकतासम्बन्धी मुद्दा विचाराधीन रहेको विषयसमेत उठाउँदै सरकारको निर्णयको आलोचना भइरहेको छ ।
यस्तो अवस्थामा रुपन्देहीकै स्थानीय बासिन्दा पाण्डेयलाई सदस्य सचिव नियुक्त गरेर सरकारले स्थानीय समुदायको असन्तुष्टि सम्बोधन गर्ने र लुम्बिनीमा जारी आन्दोलन मत्थर पार्ने अपेक्षा गरेको देखिन्छ ।
नवनियुक्त सदस्य सचिव पाण्डेयले लुम्बिनी र यहाँका स्थानीय समुदायका भावना तथा चासोलाई समेटेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । ‘म रुपन्देहीको बासिन्दा हुँ । लुम्बिनीमा विगतमा भएका गतिविधि र स्थानीय समुदायको चिन्ताबारे म नजिकबाट जानकार छु । उहाँहरूको भावनालाई समेटेर काम गर्छु’ उहाँले भन्नुभयो । पाण्डेयले काठमाडौँको एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा भारतको विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीबाट संरचनागत इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले काठमाडौँ महानगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा संरचनागत इन्जिनियरका रूपमा काम गरिसक्नुभएको छ ।
स्थानीय तहमा कार्यरत रहँदा भवन निर्माण संहिता, संरचनागत सुरक्षा, अग्ला भवनको प्राविधिक परीक्षण तथा विद्युतीय भवन निर्माण अनुमति प्रणालीको कार्यान्वयन र सुधारमा उहाँले योगदान गर्नुभएको थियो । सार्वजनिक भवन तथा पूर्वाधारको प्राविधिक गुणस्तर सुनिश्चित गर्ने र स्थानीय तहका प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिमा समेत उहाँको अनुभव रहेको छ । लुम्बिनी विकास कोषको जिम्मेवारी भौतिक संरचना निर्माणमा मात्र सीमित छैन । गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामजस्ता ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण, विकास र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धि गर्नु कोषको प्रमुख दायित्व हो ।
अधुरो लुम्बिनी गुरुयोजना कार्यान्वयन, पुरातात्त्विक सम्पदाको वैज्ञानिक संरक्षण, व्यवस्थित पर्यटन व्यवस्थापन र अन्तर्राष्ट्रिय बौद्ध समुदायसँगको सम्बन्ध विस्तार कोषका प्रमुख चुनौती हुन् । प्राविधिक पृष्ठभूमि भएका पाण्डेयको नियुक्तिले गुरुयोजना कार्यान्वयन, पूर्वाधार निर्माणको गुणस्तर र व्यवस्थापन प्रणालीमा सुधार ल्याउने अपेक्षा गरिएको छ । तर विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीको मौलिकता र गरिमा कायम राख्दै विकास तथा संरक्षणबीच सन्तुलन मिलाउनु उनको कार्यकालको मुख्य चुनौती हुनेछ ।







प्रतिक्रिया राख्नुहोस्