तपाईँ सुन्दै हुनुहुन्छः

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता : खेलकुद रिपोर्टिङ सम्बन्धि अभिमुखीकरण

सुर्खेत । राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रचार–प्रसार उपसमितिको आयोजनामा सुर्खेतका पत्रकारहरूका लागि एक दिने ‘खेलकुद रिपोर्टिङ सम्बन्धि’ अभिमुखीकरण कार्यक्रम गरिएको छ । 

आगामी (मङ्सिर १६ गतेदेखि २७ गतेसम्म ) कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुन गइरहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार–प्रसारलाई थप प्रभावकारी, व्यवस्थित र जनस्तरसम्म पुर्‍याउने उद्देश्यले एक दिने ‘खेलकुद रिपोर्टिङ सम्बन्धि’ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । 

सुर्खेतको वीरेन्द्रनगरमा नेपाल पत्रकार महासङ्घ सुर्खेतको समन्वयमा आयोजना गरिएको ‘खेलकुद रिपोर्टिङ सम्बन्धि’ अभिमुखीकरण कार्यक्रममा कर्णाली प्रदेश सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन पत्रकारहरूले सत्य, तथ्य सूचना जनतासम्म पुर्‍याउन आग्रह गर्नुभयो । पहिलो पटक कर्णालीमा आयोजना हुन लागेको राष्ट्रिय खेल उत्सवलाई सकारात्मक रूपले प्रविधिमैत्री रिपोर्टिङ हुनेमा आफु आशावादी रहेको उहाँको भनाइ थियो । 

कर्णाली प्रदेश खेल परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको सन्दर्भमा खेल मेलालाई व्यापक र प्रभावकारी प्रचार–प्रसार, व्यवस्थापन तथा मिडिया समन्वयका लागि राखेप प्रचार–प्रसार उपसमितिले विभिन्न गतिविधिहरू अगाडि बढाइरहेको जानकारी दिनुभयो । 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रचार–प्रसार उपसमितिको संयोजक मोनालिसा खम्बुले  खेलकुद पत्रकारितासँगै सञ्चार क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले खेलकुद रिपोर्टिङ सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जनाउनुभयो । 

नेपाल पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष मधुवन विसीले खेलकुदका गतिविधिहरूलाई जनस्तरसम्म प्रभावकारी रुपमा पुर्‍याउन ‘खेलकुद रिपोर्टिङ सम्बन्धि’ अभिमुखीकरण कार्यक्रम प्रभावकारी हुने दाबी गर्नुभयो । 

कार्यक्रममा राष्ट्रिय स्तरका वरिष्ठ खेल पत्रकार तथा विज्ञहरुले खेलकुद समाचार सङ्कलन, लेखन, मल्टिमिडिया प्रयोग, खेलकुदको नियम सम्बन्धी प्राविधिक ज्ञानसँगै अन्तर्राष्ट्रिय अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रशिक्षण दिनुभएको थियो । 

पत्रकार पवन आचार्य, प्रज्वल ओली र ऐलु जोशीले दिएको प्रशिक्षण उपयोगी रहेको अभिमुखीकरण कार्यक्रमका सहभागी पत्रकार देव रानाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button