तपाईँ सुन्दै हुनुहुन्छः

नौ करोड ७२ लाखको गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा मालपोतका नासुसहित छ जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसमेत छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आचार्यले रु नौ करोड ७२ लाख ७१ हजार ९८९ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको जनाएको छ ।

आयोगले आचार्य जिल्ला विकास समितिको कार्यालय, खोटाङमा गाविस सचिवमा नियुक्त भएको २०५४ माघ २ गतेदेखि सार्वजनिक पदमा बहाल रहेको २०८० मङ्सिर २१ गतेसम्मको अवधिको अनुसन्धान गरेको थियो ।

आयोगका अनुसार, सो अवधिममा आचार्य र उनको एकाघरको परिवार÷सगोलमा रहेका व्यक्तिले रु छ करोड २५ लाख ६३ हजार ३४५ वैध आय गरेको देखिन्छ । यस्तै, सोही अवधिममा रु १५ करोड ९८ लाख ३५ हजार ३३५ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ ।

परीक्षण अवधिमा वैध आयभन्दा खर्च तथा लगानी बढी भएको पाइएको आयोगको ठहर छ । आयोगले रु नौ करोड ७२ लाख ७१ हजार ९८९ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

आयोगले आचार्यको श्रीमती ललिता राजभण्डारी, छोरी निलु आचार्य र सरु आचार्यविरुद्ध समान बिगो बराबरको मागदाबी गरेको छ । यस्तै, भक्तपुर मध्यपुरथिमि–२ का प्रभा बस्नेत र काठमाडौँ पेप्सीकोलाका कुमारी कटुवालविरुद्ध रु ३८ लाख ८६ हजार १८२ बराबरको बिगो मागदाबी गरेको छ ।

यस्तै, आयोगले आचार्य र उनका परिवारका सदस्यविरुद्ध पनि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कसुर गरेको अभियोगमा अर्को मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button