तपाईँ सुन्दै हुनुहुन्छः

बेगनास तालमा छैटौँ फिस फेस्टिभल सुरु

पोखरा । कास्कीको पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा छैटौँ बेगनास फिस फेस्टिभल तथा देउसीभैलो प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा सुरु भएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्दै यस्ता महोत्सवले बेगनास ताल आसपासका पर्यटकीय स्थलको प्रचारप्रसार तथा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उनले पोखराका नौवटै ताललाई जोड्ने गरी साइकल लेनसहितको सडक निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिँदै बेगनास ताललाई वाटर स्पोट्रसको केन्द्रका रूपमा विकास गर्न सकिने बताउनुभयो । पोखराको पर्यटन प्रवद्र्धन र पर्यटकको बसाइ अवधि लम्ब्याउन फेवा र बेगनास ताललाई आधुनिक प्रविधिमार्फत जोड्ने योजना रहेको उहाँको भनाइ थियो ।

गण्डकी प्रदेशकी प्रमुख सचिव आवास श्रेष्ठ कर्णले महोत्सवले स्थानीय स्रोतसाधनको परिचालन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले स्थानीय किसान, युवा तथा व्यवसायीलाई पर्यटनसँग जोड्दै दिगो विकासमा लाग्न आग्रह गर्नुभयो ।

पोखरा–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले महोत्सवले बेगनासलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने बताउँदै धार्मिक स्थल, बराह मन्दिर क्षेत्र र वाटर स्पोट्र्सका पूर्वाधार निर्माणलाई तीव्रता दिइएको जानकारी दिनुभयो ।

लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । समाजसेवी शान्ति खनालले स्थानीय माछाको बजारीकरण, पर्यटन प्रवद्र्धन तथा मौलिक कला र संस्कृतिको संरक्षणमा महोत्सवले योगदान पुर्‍याउने बताउनुभयो ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष एवं महोत्सव संयोजक सुरेश लामिछानेले महोत्सवमा स्थानीय जातका माछा तथा माछा पालनसम्बन्धी प्रदर्शनी, माछाका परिकारको बिक्री, राष्ट्रिय कलाकारका साङ्गीतिक प्रस्तुति, पप कन्सर्ट, व्यापारिक मेला, देउसीभैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी र बिक्री गरिने जानकारी दिनुभयो ।

‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित कार्तिक २३ गतेसम्म सञ्चालन हुने महोत्सवले स्थानीय उत्पादनको खपत बढाउनुका साथै बेगनास क्षेत्रको पर्यटन र आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ । महोत्सवबाट बचत भएको रकम तालबाराही, गोरखनाथ मन्दिर तथा बेगनास ताल क्षेत्रको विकासमा खर्च गरिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button