तपाईँ सुन्दै हुनुहुन्छः

चार वर्षदेखि अलपत्र बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनको जिम्मा व्यवस्थापन समितिलाई

रुपन्देही । निर्माण सम्पन्न भएको चार वर्षसम्म पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्वामित्व तथा सञ्चालनको जिम्मेवारी विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई हस्तान्तरण गरिएको छ । जिम्मेवारी हस्तान्तरणसँगै सम्मेलन केन्द्र व्यवस्थित रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलीप भण्डारी तथा पूर्वाधार विकासमन्त्रीका सल्लाहकार मधु अर्यालको उपस्थितिमा आयोजित कार्यक्रममा सम्मेलन केन्द्र समितिलाई हस्तान्तरण गरिएको हो । सिनियर डिभिजनल इन्जिनियर कीर्तिकान्त साहले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश, २०८१ बमोजिम आवश्यक कागजातसहित सम्मेलन केन्द्रका कार्यकारी निर्देशक धर्मराज खड्कालाई संरचना हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण ग्रहण गर्दै कार्यकारी निर्देशक खड्काले सम्मेलन केन्द्रलाई पारदर्शी ढङ्गले सञ्चालन गर्दै सेवाग्राहीको अधिकतम सन्तुष्टि र उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोगमा जोड दिने बताउनुभयो । उहाँले सरकारको कार्यशैलीअनुसार सम्मेलन केन्द्रको व्यवस्थित सञ्चालन तथा व्यवस्थापनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एक अर्ब ११ करोड रुपैयाँ खर्च गरेर आठ वर्ष लगाएर निर्माण गरिएको सम्मेलन केन्द्र पूर्ण रूपमा सञ्चालनमा नआउँदा यसको उपयोगितामाथि प्रश्न उठ्दै आएको थियो । सम्मेलन केन्द्रका १३ वटा सभाहलमध्ये एउटा ठूलो हल मात्र आंशिक रूपमा सञ्चालनमा छ भने बाँकी १२ वटा सभाहल प्रयोगमा आउन सकेका छैनन् ।

सञ्चालनसम्बन्धी कार्यविधि निर्माण तथा स्वीकृतिमा भएको ढिलाइका कारण लामो समयसम्म सम्मेलन केन्द्रको व्यवस्थित उपयोग हुन नसकेको हो । सञ्चालनमा नआए पनि भवनको सरसफाइ, विद्युत्, पानी, हेरचाह र कर्मचारी व्यवस्थापनमा लाखौँ रुपैयाँ खर्च हुँदै आएको छ । कार्यविधि स्वीकृतिका लागि २०७९ जेठमै सहरी विकास तथा भवन निर्माण विभागमार्फत सङ्घीय सहरी विकास मन्त्रालयमा पठाइएको थियो ।

बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित बुटवल मण्डपमा निर्माण गरिएको सम्मेलन केन्द्रको अवधारणा तत्कालीन रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघि बढाउनुभएको थियो । बुटवल मण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँगै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने योजनाअन्तर्गत यो संरचना निर्माण गरिएको हो ।

निर्माण सम्पन्न भएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वअर्थमन्त्री पौडेलले २०७९ भदौ ११ गते सम्मेलन केन्द्रको उद्घाटन गर्नुभएको थियो । नेपालको राष्ट्रिय झन्डाको आकारमा निर्माण गरिएको सम्मेलन केन्द्र लुम्बिनी प्रदेशकै महत्वपूर्ण भौतिक संरचनामध्ये एक हो ।

करिब साढे नौ बिघा क्षेत्रफलमा फैलिएको सम्मेलन केन्द्रमा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन तथा कार्यक्रम सञ्चालन गर्न आवश्यक सुविधा उपलब्ध छन् । यहाँ चार सय चारपाङ्ग्रे सवारीसाधन र चार सय मोटरसाइकल पार्किङ गर्न सकिने व्यवस्था छ । लिफ्टसहित निर्माण गरिएको भवनमा मुख्य सभाहल, बैठक कक्ष र बहुउद्देश्यीय हल रहेका छन् ।

मुख्य सभाहलमा ८७२ वटा कुर्सी जडान गरिएका छन् । त्यसबाहेक छ वटा बैठक हल र दुई वटा बहुउद्देश्यीय हल निर्माण गरिएका छन् । यति ठूलो संरचना निर्माण भएर पनि पूर्ण क्षमतामा सञ्चालन नहुँदा सरकारी लगानीको अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन ।

सम्मेलन केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएमा बुटवलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन, गोष्ठी, प्रदर्शनी र व्यावसायिक कार्यक्रम आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ । यसले बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, पर्यटन प्रवर्द्धन र स्थानीय व्यवसायीको आयआर्जनमा समेत योगदान पुर्‍याउन सक्ने सम्भावना छ ।

सम्मेलन केन्द्रको जिम्मेवारी व्यवस्थापन समितिलाई हस्तान्तरण भएसँगै अब यसको सञ्चालन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ । तर, हस्तान्तरणमा मात्र सीमित नभई सबै सभाहल उपयोगमा ल्याउने, नियमित कार्यक्रम सुनिश्चित गर्ने र सरकारी लगानीको अधिकतम प्रतिफल प्राप्त गर्ने गरी प्रभावकारी व्यवस्थापन गर्नु समितिका लागि मुख्य चुनौती हुने व्यवसायी प्रकाश भुसालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button