खानामा काठ र फलामका टुक्रा भेटिएपछि सुनवलको सगरमाथा होटल बन्द
नवलपरासी । खानामा प्रयोग हुने काठ र फलामका टुक्रा भेटिनुका साथै बासी खानेकुरा र फोहोर खानेपानीको स्रोत फेला परेपछि सुनवल नगरपालिका–४ स्थित सगरमाथा होटललाई सुधारका काम पूरा नभएसम्म सञ्चालन नगर्न निर्देशन दिइएको छ ।
खाद्य स्वच्छता तथा सरसफाइको अवस्था कमजोर रहेको गुनासो तथा अनुगमनका क्रममा होटलमा विभिन्न कैफियत फेला परेका हुन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निर्देशनअनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, कपिलवस्तुको टोलीले गरेको अनुगमनमा होटलको भान्सा, खानेपानीको स्रोत र खाद्य सामग्रीको व्यवस्थापनमा गम्भीर लापरबाही देखिएको प्रतिवेदनमा उल्लेख छ ।
विभागका अनुसार होटलमा खानामा प्रयोग हुने काठ र फलामका टुक्रासमेत भेटिएका थिए । त्यस्तै, भान्सामा बासी खानेकुरा राखिएको, खानेपानीको स्रोत फोहोर ठाउँमा रहेको तथा भान्सामा आवश्यक सामग्री अव्यवस्थित रूपमा राखिएको पाइएको थियो । यी अवस्थाले होटलमा खाद्य स्वच्छता र सरसफाइसम्बन्धी मापदण्ड पालना नभएको देखाएको छ ।
अनुगमनका क्रममा होटल बन्द अवस्थामा रहेकाले सुनवल नगरपालिका–४ का वडाध्यक्षको पहलमा होटल खोलेर निरीक्षण गरिएको थियो । निरीक्षणपछि होटल सञ्चालकलाई भान्सा पूर्ण रूपमा सफा गर्न, अनावश्यक सामग्री उचित व्यवस्थापन गर्न तथा खानेपानीको स्रोत स्वच्छ राख्न निर्देशन दिइएको विभागले जनाएको छ ।
विभागले तोकिएका सुधारका काम पूरा नभएसम्म होटल सञ्चालन नगर्न निर्देशन दिएको छ । साथै, निर्देशनअनुसार होटलको अवस्था सुधार गरी ३० दिनभित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा र सुनवल नगरपालिका–४ को वडा कार्यालयलाई जानकारी गराउन भनिएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।
खाद्य पदार्थमा अखाद्य वस्तु भेटिनु उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो । होटल तथा भोजनालयले स्वच्छ भान्सा, सुरक्षित खानेपानी र खाद्य सामग्रीको उचित भण्डारणमा विशेष ध्यान दिनुपर्ने अनुगमन टोलीले औल्याएको छ ।








प्रतिक्रिया राख्नुहोस्