तपाईँ सुन्दै हुनुहुन्छः

सडक सम्पर्क विच्छेद भएका गोरखा र रसुवाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री वितरण

काठमाडौँ I बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्‍याइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका बस्तीमा राहत सामग्री पुर्‍याउन ड्रोनको प्रयोग गरिरहेको जनाएको छ । दसैँका समयमा समेत प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन ड्रोन प्रयोग गरिएको प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सडक सम्पर्क विच्छेद भएका र भौगोलिक रूपमा विकट क्षेत्रमा राहत वितरण गर्न ड्रोन प्रभावकारी बनेको बताउनुभयो ।

“हामीसँग चार वटा ड्रोन छन् । रसुवा र गोरखामा सडक सम्पर्क विच्छेद भएका स्थानमा ड्रोनमार्फत राहत वितरण भइरहेको छ,” उहाँले भन्नुभयो ।

बाढीमा सडक, पुललगायत भौतिक पूर्वाधार बगेपछि राहत सामग्री आपूर्ति गर्न प्राधिकरणलाई चुनौती थपिएको छ । प्रभावित नागरिकको उद्धार र राहतमा प्राधिकरणले ड्रोनको अधिकतम उपयोग गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button