तपाईँ सुन्दै हुनुहुन्छः

मोबाइल बैंकिङमार्फत ठगी बढ्दै, सचेत रहन आग्रह

बैतडी । सामाजिक सञ्जाल म्यासेन्जरमा आएको अपरिचित लिङ्कमा क्लिक गर्दा बैतडीको सुर्नया गाउँपालिका–५ का कर्णबहादुर मडैले दुई लाख नौ हजार रुपैयाँ गुमाउनुभएको छ। गाउँमै सानो किराना पसल सञ्चालन गर्दै आउनुभएका मडैको मोबाइल बैंकिङबाट रकम गायब भएपछि उहाँ अहिले न्यायको खोजीमा प्रहरीकहाँ पुग्नुभएको छ।

“एउटा म्यासेज आएको थियो, त्यसमा आएको लिङ्क खोल्दा मोबाइल दुई दिनसम्म खुलेन। मोबाइल खुलेपछि हेर्दा खातामा रहेको दुई लाख नौ हजार रुपैयाँ नै गायब भएको पाइयो,” मडैले भन्नुभयो।

बैतडीमा मजदुरी गर्दै आउनुभएका कैलालीका अर्जुन चौधरी पनि मोबाइल बैंकिङमार्फत रकम चोरी भएपछि समस्यामा पर्नुभएको छ। ह्वाट्सएपमा फोन गरेर चिठ्ठा परेको भन्दै जानकारी दिइएको र फोन गर्ने व्यक्तिले मागेबमोजिमको विवरण पठाउँदा बैंक खातामा रहेको रकम चोरी भएको उहाँले बताउनुभयो।

“ह्वाट्सएपमा चिठ्ठा परेको भनेर म्यासेज आएको थियो। त्यसमा भनिए अनुसारको ओटीपी (OTP) नम्बर दिएको थिएँ, त्यसपछि खाताको सबै रकम गायब भयो,” चौधरीले भन्नुभयो।

यी त मोबाइल बैंकिङमार्फत हुने ठगीका प्रतिनिधि घटना मात्र हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गत आर्थिक वर्षमा मोबाइल बैंकिङमार्फत रकम चोरी भएको भन्दै ४१ वटा निवेदन परेका थिए। चालु आर्थिक वर्षको दुई महिनामै थप २३ वटा निवेदन दर्ता भइसकेका छन्।

मोबाइल बैंकिङ र डिजिटल कारोबारको प्रयोग बढिरहेका बेला प्रयोगकर्ताको असावधानीको फाइदा उठाउँदै ठगी गर्ने प्रवृत्ति बढेको प्रहरीको भनाइ छ। यस विषयमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले सर्वसाधारणलाई विशेष सचेत रहन आग्रह गर्नुभएको छ।

मोबाइल बैंकिङमार्फत हुने ठगीबाट जोगिन सर्वसाधारण आफैँ सजग हुन आवश्यक छ। अपरिचित व्यक्तिले पठाएका लिङ्कमा क्लिक नगर्न, चिठ्ठा वा उपहार परेको भन्दै आउने फोन र म्यासेजको भर नपर्न तथा बैंकको पासवर्ड, ओटीपी (OTP) र अन्य गोप्य विवरण कसैलाई पनि सेयर नगर्न प्रहरीले जोड दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button