नवलपरासीको ऐतिहासिक पाल्ही भगवती मन्दिरमा भक्तजनको घुइँचो
पश्चिम नवलपरासी। बडादसैँको अवसरमा पश्चिम नवलपरासीको प्रसिद्ध शक्तिपीठ पाल्ही भगवती मन्दिरमा भक्तजनको भव्य घुइँचो लागेको छ। मन्दिर परिसरमा पूजाअर्चना तथा दर्शनका लागि बिहानैदेखि श्रद्धालुहरूको भीड लाग्ने गरेको छ।

पाल्हीनन्दन गाउँपालिका–४ मा रहेको यस ऐतिहासिक मन्दिरमा दसैँका अवसरमा विशेष पूजाआजा हुने गर्दछ। यहाँ नवलपरासीका साथै छिमेकी जिल्लाहरू रुपन्देही, कपिलवस्तु र सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थीहरू मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ आउने गर्छन्।
ऐतिहासिक तथा धार्मिक पृष्ठभूमि
पौराणिक इतिहास अनुसार पाल राजवंशको शासनकालमा कोट (किल्ला) को रूपमा स्थापित भएकाले यस मन्दिरलाई ‘पाल्ही कोटकी काली भगवती’ भनिन थालिएको हो। वि.सं. २०१८ भन्दा अघि यस क्षेत्रलाई ‘पाल्ही माझखण्ड’ भनेर चिनिन्थ्यो। साविक नवलपरासी जिल्ला र परासी क्षेत्रको नामकरणमा समेत यसै ऐतिहासिक पाल्ही भगवतीको विशेष योगदान रहेको मानिन्छ। मन्दिरको नियमित सञ्चालनका लागि वि.सं. १९०० मा इन्द्र सुब्बाले गुठीको व्यवस्थापन गरिदिएको अभिलेख पाइन्छ।
मन्दिरमा स्थापित देवी काली (भगवती) को स्वरूप शान्त र ज्ञानदायिनी रहेको छ। बायाँ हातमा खड्ग बोकेकी देवीको मूर्तिलाई विशेष शृङ्गार गरी पूजाअर्चना गरिन्छ। तान्त्रिक र वैदिक दुवै विधिबाट पूजा गरिने यस शक्तिपीठमा सच्चा मनले भाकल गरेमा सन्तान प्राप्ति हुने, चिताएको पुग्ने र सङ्कटबाट मुक्ति पाइने जनविश्वास छ।
करिब साढे एक बिघा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा मुख्य काली मन्दिरका साथै शिव, हनुमान र चामुण्डा देवी लगायतका अन्य देव-देवताका मन्दिरहरूसमेत रहेका छन्। बडादसैँका अवसरमा मन्दिर व्यवस्थापन समितिले भक्तजनको सहज दर्शनका लागि सुरक्षा, खानेपानी तथा शान्ति-सुरक्षाको विशेष प्रबन्ध मिलाएको छ। यद्यपि, ऐतिहासिक मौलिकता बोकेको यस मन्दिरको अपेक्षाकृत विकास भने हुन सकेको छैन।








प्रतिक्रिया राख्नुहोस्