तपाईँ सुन्दै हुनुहुन्छः

चियाबारी र हिमालको काख: पर्यटक तान्दै सूर्योदयको चित्रे

इलाम। इलामको सूर्योदय नगरपालिका पर्यटकीय आकर्षणका हिसाबले देशकै उत्कृष्ट गन्तव्यमध्ये पर्छ। यसै नगरपालिकाको वडा नं. १ स्थित चित्रे पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ र प्रमुख आकर्षणको केन्द्रका रूपमा विकसित भइरहेको छ।

हरियाली डाँडाकाँडा, मनोरम प्राकृतिक सौन्दर्य, ग्रामीण र शान्त वातावरणले भरिपूर्ण यो क्षेत्रमा पर्यटकहरूको चहलपहल बढ्दो छ। चियाबगान, मनोरम पहाडी श्रृङ्खला, सूर्योदय तथा सूर्यास्तको मनमोहक दृश्य र हिमश्रृङ्खलाको अवलोकनका लागि सूर्योदय नगरपालिका प्रख्यात छ। नगरभित्रका विभिन्न पर्यटकीय स्थलहरूमध्ये चित्रे क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर पूर्वाधार विकासका कामहरू अघि बढाएको छ।

ऐतिहासिक एवं धार्मिक महत्त्व बोकेको चित्रे गुम्बाका कारण यो क्षेत्र नेपाली तथा भारतीय पर्यटकहरूका लागि परिचित धार्मिक गन्तव्य पनि हो। यहाँबाट नेपाल र भारतका विभिन्न भूभागका साथै कञ्चनजङ्घा हिमालको स्पष्ट र मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। कोलाहलबाट टाढा रहेर प्रकृतिमा रमाउन चाहने पर्यटकका लागि चित्रे उत्कृष्ट गन्तव्य बनेको सूर्योदय नगरपालिका वडा नं. १ का वडाध्यक्ष राजकुमार सेरेङले बताउनुभयो।

चित्रे क्षेत्रलाई ग्रामीण पर्यटन र पदयात्रा (Trekking/Hiking) सँग जोडेर सडक तथा भौतिक पूर्वाधारको विकास गर्न सके पर्यटनको दायरा अझ फराकिलो हुने देखिन्छ। साथै स्थानीय उत्पादन, कृषि, संस्कृति र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्दा पर्यटकको आगमन अझ बाक्लो हुने स्थानीयको विश्वास छ।

नगरपालिकाले चित्रेको विकासका लागि आफ्नै आन्तरिक स्रोतबाट बजेट विनियोजन गरी कार्य गरिरहेको र थप विकासका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समेत पहल भइरहेको सूर्योदय नगरपालिकाकी कार्यवाहक नगर प्रमुख दुर्गा बरालले जानकारी दिनुभयो।

यसैबीच, पर्यटकको बसाइ अवधि लम्ब्याउनका लागि होमस्टे (घरबास) सञ्चालन, स्थानीय खानपान (परिकार), पदमार्ग निर्माण, दृश्यावलोकन स्तम्भ (View Tower) तथा आवश्यक भौतिक पूर्वाधार निर्माणमा राज्यले विशेष ध्यान दिनुपर्ने माग स्थानीयवासीको रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button