तपाईँ सुन्दै हुनुहुन्छः

महाअष्टमीमा बागलुङमा दुई सयभन्दा बढी कन्याको पूजन

बागलुङ । बडादसैँ अन्तर्गत महाअष्टमीको अवसरमा बागलुङ नगरपालिका–४, कुडुले फेदीस्थित श्रीरङ्ग वेङ्कटेश मुक्तिनाथ मन्दिरमा दुई सयभन्दा बढी कन्याको पूजन गरिएको छ ।

मन्दिरका अध्यक्ष एवं शालग्राम सङ्ग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यको पहलमा आयोजित कन्या पूजन कार्यक्रममा गाउँका दुई सयभन्दा बढी कन्याहरूलाई विधिपूर्वक पूजा गरी प्रसाद तथा विभिन्न मिष्ठान्न भोजन गराइएको थियो ।

हिन्दू धर्मशास्त्रमा कन्यालाई देवी दुर्गाको स्वरूपका रूपमा मान्ने गरिन्छ । विशेषगरी नवरात्र तथा महाअष्टमीमा कन्या पूजन गर्नाले देवीको कृपा प्राप्त हुने, सुख, शान्ति, समृद्धि र कल्याण हुने धार्मिक विश्वास रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा शालग्राम सङ्ग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

कन्या पूजनले बालिकाप्रतिको सम्मान, श्रद्धा र समाजमा छोरीको महत्वलाई समेत उजागर गर्ने कार्यक्रममा सहभागी पूर्व सांसद मना केसीले बताउनुभयो ।

धार्मिक आस्था र परम्पराको संरक्षणसँगै बालिकाप्रति सम्मान प्रकट हुने हुँदा यस्ता खालका कार्यक्रम लाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो । यस मन्दिरमा वर्षेनी बढादशैका अवसरमा कन्या पुजन हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button