तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए
सिन्धुपाल्चोक । यही कात्तिक १ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको तातोपानी नाकालाई नियमित रूपमा सञ्चालनमा ल्याउन माग गरिएको छ ।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले हाल यो नाका तीन दिन मात्रै सञ्चालन हुने भएकाले चाडपर्व लक्षित गरी ल्याइएको सामग्री उतै रहने जोखिम बढेको छ ।
“चीनको सिचाङस्थित न्यालम क्षेत्रमा दसैँ, तिहारलगायतका चाडपर्वलक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनरहरू रोकिएका छन्, अस्थायी रूपमा तीन दिन मात्रै सञ्चालनमा आएको नाकाबाट ती सामान ल्याउन सम्भव छैन, त्यसैले नियमित रूपमा सञ्चालन आवश्यक छ,” उहाँले भन्नुभयो ।
महासचिव पराजुलीका अनुसार सङ्घले चीन सरकार र नेपालस्थित चिनियाँ दूतावासलाई ध्यानाकर्षण पत्र बुझाएर नाका निरन्तर सञ्चालनको माग गरिसकेको छ ।
उहाँका अनुसार चाडपर्व लक्षित सामान बोकेका कन्टेनरहरू सीमामा रोकिएको छन्, यी सामानहरूमध्ये ठुलो हिस्सा नाशवान् वस्तुहरू, कृषि उत्पादनहरू तथा मौसमी व्यापारिक सामग्रीहरूको रहेको छ, जुन तत्काल बिग्रने जोखिममा छन् । अन्य नाकाहरू सञ्चालन नभइरहेको अवस्थामा दुई देशबीचको व्यापारलाई सहज बनाउन तातोपानी नाका पूर्ण रूपमा सञ्चालन हुन जरुरी भएको उहाँको भनाइ छ ।
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नरेन्द्रसिंह चैसिरका अनुसार नाकाबाट आइतबार तीन वटा मालवाहक कन्टेनर भित्रिएका थिए भने आज साँझसम्म सात वटा मात्रै कन्टेनर आएका छन् । उहाँले भन्नुभयो, “कार्गो ट्रकका लागि मात्रै चीनले अनुमति दिएका कारण साना कन्टेनरहरु आउन सकेका छैनन् ।” भित्रिएका कन्टेनरहरूमा फलफूल, जुत्ता, तयारी पोसाक र कृषिजन्य सामग्रीहरू रहेको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्