विश्वकप लिग–२: ओमानविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। ओमानको अलअमरात क्रिकेट मैदानमा खेल सुरु भएको छ।

एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) मान्यता जोगाउन र अङ्क तालिकाको शीर्ष छ स्थान सुरक्षित गर्न नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब रहेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली टोलीले ओमान सामु विशाल योगफल खडा गर्दै दबाब बनाउने रणनीति लिएको छ।
पछिल्लो खेलमा क्यानडासँग २४ रनले पराजित भएपछि नेपाल तालिकाको सातौँ स्थानमा झरेको थियो। तर, छैटौँ स्थानमा रहेको क्यानडाभन्दा नेपालको नेट रनरेट राम्रो रहेकाले आजको जितले नेपाललाई सोझै शीर्ष ६ मा पुर्याउनेछ।
यसअघि शृङ्खलाको दोस्रो खेलमा नेपालले ओमानलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।हालसम्म भएका १२ एकदिवसीय भेटमा दुवै टोलीले समान ६–६ खेल जितेका छन् भने पछिल्ला तीन भेटमा नेपाल लगातार विजयी भएको छ। नेपाली टोली आज पनि सोही लय कायमै राख्दै जित दोहोर्याउने लक्ष्यका साथ मैदानमा उत्रिएको छ।







प्रतिक्रिया राख्नुहोस्