मधेशका शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो
जनकपुरधाम।महाअष्टमी पर्वका अवसरमा मधेश प्रदेशका प्रमुख शक्तिपीठहरूमा पूजाअर्चना गर्न बिहानैदेखि भक्तजनहरूको ठूलो घुइँचो लागेको छ। प्रदेशका विभिन्न प्रसिद्ध मन्दिरहरूमा आज बिहानैदेखि भाकल अनुसार बोकाबली दिने तथा पूजापाठ गर्ने क्रम जारी छ।

जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा महाअष्टमीका अवसरमा गएरातिदेखि आज बिहानसम्म हजारौँको सङ्ख्यामा बोकाबली दिइएको छ। बोकाबली दिनका लागि हिजो साँझदेखि नै भक्तजनहरू बोकासहित लामो लाइनमा बसेका थिए।
मन्दिर व्यवस्थापन तथा बोकाबलीको व्यवस्थापन गर्दै आएको महावीर युवा कमिटीका अनुसार यस वर्ष राजदेवी मन्दिरमा १४ हजार ८ सय ९१ वटा बोकाको बली दिइएको छ। अन्य शक्तिपीठहरूमा आज र भोलि (महानवमी) पनि बलि दिने कार्यक्रम रहे पनि राजदेवी मन्दिरमा भने अष्टमीका दिन मात्र बलि दिने परम्परा रहेको छ।

यसैगरी, रौतहटको दुर्गा भगवती गाउँपालिका–३, मत्सरीस्थित प्रसिद्ध दुर्गा मन्दिरमा पनि आज बिहानैदेखि बोकाबली दिइएको छ। मन्दिरमा राति निशापूजा सम्पन्न भएपछि मन्दिरका तर्फबाट कुभिण्डो तथा एक जोडी बोकाबली दिइएको थियो। त्यसपछि सर्वसाधारणका लागि बलि खुला गरिएको र यो क्रम भोलि नवमीका दिन पनि जारी रहने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
मत्सरीस्थित दुर्गा मन्दिर क्षेत्रमा महासप्तमीदेखि नै ठूलो धार्मिक मेला लागेको छ। मेला भर्नका लागि नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनहरू आएका छन्। मेलामा करोडौँको कारोबार हुने भएकाले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो मद्दत पुगेको स्थानीयको भनाइ छ।
यसका साथै सप्तरीको प्रसिद्ध छिन्नमस्ता (सखडा भगवती), बाराको गढीमाईलगायतका शक्तिपीठहरूमा पनि भक्तजनहरूले आ-आफ्नो भाकल अनुसार पूजाअर्चना गरी बोकाबली तथा प्रसाद चढाउने काम गरिरहेका छन्।
दशैँका अवसरमा मधेश प्रदेशका जिल्लाहरूमा माटोको प्रतिमा बनाएर ठाउँ-ठाउँमा माता दुर्गा भवानीको विधिपूर्वक विशेष पूजापाठ गर्ने प्राचीन परम्परा रहँदै आएको छ। मन्दिर तथा शक्तिपीठ क्षेत्रमा मेलाका साथै विविध सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना भइरहेका छन्।







प्रतिक्रिया राख्नुहोस्