निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमीको रौनक, दर्शनार्थीको घुइँचो

बैतडी I बैतडीको प्रसिद्ध शक्तिपीठ निङ्गलाशैनी भगवती मन्दिरमा आज महाअष्टमीका दिन पूजाआजा सहित बलि तथा दर्शन गर्न आउने भक्तजनको भीड लागेको छ।

जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाडौँस्थित निङ्गलाशैनी मन्दिरमा दर्शन तथा पूजापाठका लागि स्थानीयसँगै सुदूरपश्चिमका नौवटै जिल्ला सहित छिमेकी मुलुक भारतबाट समेत भक्तजन पुग्ने गरेका छन्।

निङ्गलाशैनी भगवतीलाई सुदूरपश्चिमका नौ बहिनी भगवती मध्ये एक मान्ने गरिन्छ । निङ्गलाशैनी भगवती मन्दिरमा महासप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र महाष्टमीका दिन राँगाको बलि दिने प्रचलन रही आएको छ । हरेक वर्ष शरदीय नवरात्रको महासप्तमी र महाष्टमीको दिन निङ्गलाशैनी भगवती मन्दिरमा ठूलो जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवतीको दर्शनका लागि हजारौँ दर्शनार्थीहरु मन्दिरमा पुगेका स्थानीय सुमित भट्टले बताउनुभयो ।

निङ्गलाशैनी भगवती मन्दिरमा वर्षको चार पटक जात्रा लाग्ने गर्दछ । असोजको महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने गर्दछ भने, मङ्सिर शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमा र भाद्र शुक्ल चतुर्दशी अर्थात् अनन्त चतुर्दशीको समयमा मन्दिरमा ठाडो जात (जात्रा) हुने भएकाले उक्त समयमा बलि नहुने मन्दिरका मूल पुजारी देवदत्त भट्टले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्