तपाईँ सुन्दै हुनुहुन्छः

नवरात्रको आठौँ दिन: देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ। नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । 

 महाअष्टमीका दिन आज यहाँका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, तलेजु भवानी टोखा चण्डेश्वरीलगायत शक्तिपीठ एवं देवी मन्दिरमा देवीको पूजाअर्चना गर्ने भक्तजन भीड लागेको हो । ती शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएका छन् । 

स्थानीय समाचारदाताहरूका अनुसार दक्षिणकाली, गोरखाको मनकामना, ताप्लेजुङको पाथीभरा, ललितपुरको बगलामुखी, पोखराको विन्ध्यवासिनी, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, जुम्लाको चन्दननाथ, डोटीको शैलेश्वरी, डडेलधुराको उग्रतारा भगवती, बैतडीको त्रिपुरासुन्दरी, निङ्लाशैनी, नेपालगञ्जको वागीश्वरी, सप्तरीको छिन्नमस्ता भगवती र राजदेवी, धनकुटाको जाल्पादेवी, धरानको दन्तकाली तथा बाराको गढीमाईमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । 

शारदीय नवरात्र  पनि भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजा आराधना गरिन्छ । नौ दिनसम्म विशेष साधना गरे मनोकामना पूरा हुने जनविश्वास छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button