तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका कुमाल समुदायलाई माटाका दियो बनाउने चटारो

नेपालगञ्ज। नेपालीहरूको महान् पर्व दसैँ र तिहार नजिकिएसँगै बाँकेका कुमाल समुदायमा चाडपर्वको रौनकसँगै कामको चटारो बढेको छ। पुस्तौँदेखि माटोका भाँडाकुँडा र दियो बनाएर जीविकोपार्जन गर्दै आएका कुमाल परिवार यतिबेला माटो मुछ्न, दियोलाई आकार दिन र बिक्रीका लागि तयार पार्न दिनरात खटिरहेका छन्।

आधुनिक विद्युतीय बत्तीको प्रयोग बढ्दै गए पनि दीपावलीमा माटोको दियो बाल्ने धार्मिक तथा सांस्कृतिक परम्परा कायम छ। त्यसैले कुमाल समुदायका लागि दसैँ–तिहार आम्दानीको मुख्य अवसर बनेको छ।

दीपावलीमा घरआँगन, मठमन्दिर तथा पूजास्थलमा माटोको दियो बाल्ने चलन छ। नेपालगञ्जसहित बाँकेका विभिन्न स्थानमा रहेका कुमाल परिवार अहिले दियो बनाउन व्यस्त छन्। विशेष गरी मधेसी समुदायमा दीपावलीका बेला माटोको दियो बाल्ने विशेष परम्परा रहेकाले यस समयमा बजारमा दियोको माग ह्वात्तै बढ्ने स्थानीय सामाजिक अगुवा विष्णुलाल कुमाल बताउनुहुन्छ।

उहाँका अनुसार कुमाल समुदायका दर्जनभन्दा बढी परिवार बिहान सबेरैदेखि रातिसम्म दियो उत्पादनमा जुटेका छन्। कतिपय परिवार त राति २ बजेदेखि नै उठेर माटो मुछ्ने, चक्रमा राखेर दियो बनाउने, सुकाउने र पकाएर बिक्रीका लागि तयार पार्ने काममा लाग्छन्। सीमित अवधिमा धेरै दियो उत्पादन गर्नुपर्ने भएकाले परिवारका सबै सदस्य काममा खटिने गरेका छन्।

यस सिजनमा एकै परिवारले एक लाखदेखि पाँच लाख वटासम्म दियो उत्पादन गर्ने लक्ष्य राखेको छ। बजारमा बिक्रीको अवस्था हेरेर प्रतिपरिवार एक लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरिएको कुमालले जानकारी दिनुभयो।

कुमालहरूले तयार पारेका दियो खरिद गर्न व्यापारी तथा ग्राहकहरू घरमै पुग्ने गरेका छन्। केही परिवारले भने नेपालगञ्जको त्रिभुवन चोक तथा आसपासका बजारमा लगेर दियो बिक्री गर्दै आएका छन्। पर्व नजिकिँदै जाँदा बजारमा दियो किन्नेहरूको चहलपहल सुरु भइसकेको छ।

आधुनिक प्लास्टिक, धातु र विद्युतीय सजावटका सामग्रीको प्रयोग बढे पनि धार्मिक अनुष्ठान तथा पूजाआजामा माटोका सामग्रीको विकल्प नरहेको कुमाल समुदायको भनाइ छ।

माटोको दियो निर्माण केवल आम्दानीको स्रोत मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक सीप र पहिचान पनि हो। माटो छान्ने, मुछ्ने, आकार दिने र सुकाउने काममा धैर्य, सीप र अनुभव आवश्यक पर्छ। तर, आधुनिक सामग्रीको बढ्दो वर्चस्व र कच्चा पदार्थको अभावका कारण परम्परागत पेसा जोगाउन चुनौती थपिएको छ।

स्थानीय उत्पादन र परम्परागत सीपको प्रवर्द्धनका लागि माटोका दियो प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने स्थानीयको भनाइ छ। बजारमा उचित मूल्य, सहज बिक्री र कच्चा पदार्थको उपलब्धता सुनिश्चित हुन सके यो मौलिक पेसा नयाँ पुस्तामा हस्तान्तरण गर्न सहज हुने देखिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button