प्रविधिको विकाससँगै हराउँदै लिङ्गे पिङको रौनक
उदयपुर । कुनै समय दशैँ–तिहार नजिकिएसँगै गाउँघरमा बाँस र बाबियोको डोरीबाट बनाइने लिङ्गे पिङको अलग्गै रौनक छाउँथ्यो। गाउँका चौतारा, खुला चौर र बस्तीका छेउछाउमा पिङ हाल्ने चटारो हुन्थ्यो। बालबालिकादेखि वृद्धवृद्धासम्म पिङ खेल्न उत्साहित देखिन्थे। पिङमा मच्चिँदै रमाउने र पालो पर्खेर घण्टौँ बिताउने दृश्यले गाउँघरमा चाडपर्वको उमङ्ग थप्थ्यो। तर, समयसँगै बदलिएको जीवनशैली र प्रविधिको बढ्दो प्रभावका कारण कुनै समय दशैँ–तिहारको अभिन्न हिस्सा बनेको लिङ्गे पिङको रौनक अहिले क्रमशः घट्दै गएको छ।

सामाजिक एकता र मौलिकाको प्रतीक
नेपाली समाजमा लिङ्गे पिङ मनोरञ्जनको साधन मात्र नभई मौलिक संस्कृति, सामाजिक सद्भाव र सामूहिक एकताको प्रतीकसमेत थियो। दशैँ–तिहारको आगमनसँगै गाउँका युवाहरू मिलेर बाँस खोज्ने, बाबियोको डोरी बाट्ने र पिङ तयार पार्ने परम्पराले सामूहिक श्रम तथा आपसी सहयोगको भावनालाई बलियो बनाउँथ्यो। पिङ खेल्न गाउँभरिका मानिस एकै ठाउँमा भेला हुँदा भेटघाट, कुराकानी र आत्मीयता साटासाट गर्ने अवसर मिल्थ्यो।
तर, पछिल्लो समय प्रविधिको तीव्र विकास, आधुनिक मनोरञ्जनका साधनको विस्तार र बदलिँदो सामाजिक परिवेशले परम्परागत खेलकुदप्रतिको आकर्षण घटाउँदै लगेको छ। मोबाइल फोन, इन्टरनेट र डिजिटल मनोरञ्जनमा रमाउने नयाँ पुस्ताको दैनिकी बदलिँदै जाँदा लिङ्गे पिङजस्ता मौलिक परम्पराले अपेक्षित प्राथमिकता पाउन सकेका छैनन्। कतिपय स्थानमा पिङ हाल्ने चलन पूर्ण रूपमा हराइसकेको छ भने केही गाउँमा अझै सीमित रूपमा कायम छ।
ग्रामीण क्षेत्रमा अझै जीवितै राख्ने प्रयास
उदयपुरका केही ग्रामीण भेगमा भने अझै पनि दशैँ–तिहारका अवसरमा लिङ्गे पिङ हाल्ने परम्परा कायम रहेको स्थानीय बताउँछन्। बाँसको पिङमा मच्चिँदै रमाउने बालबालिका, युवायुवती र वृद्धवृद्धाको सहभागिताले पुरानो सांस्कृतिक परम्परालाई जीवित राख्ने प्रयास भइरहेको देखिन्छ।
बेलका नगरपालिका–४ का स्थानीय लवराज अधिकारीका अनुसार उदयपुरका केही ग्रामीण क्षेत्रमा अझै पनि लिङ्गे पिङ हाल्ने चलन कायम छ। “आधुनिक मनोरञ्जनका साधन बढे पनि गाउँघरमा लिङ्गे पिङले चाडपर्वको परम्परागत रौनक र सांस्कृतिक पहिचानलाई झल्काउँदै आएको छ,” अधिकारीले भने।
त्यस्तै, त्रियुगा नगरपालिका–१० का भागवत राउत लिङ्गे पिङको संरक्षणलाई सांस्कृतिक सम्पदाको जगेर्नासँग जोडेर हेर्नुपर्ने बताउँछन्। “लिङ्गे पिङ जोगाउनु भनेको मनोरञ्जनको एउटा पुरानो साधनलाई निरन्तरता दिनु मात्र होइन,” राउत भन्छन्, “यो त पुर्खाले हस्तान्तरण गरेको परम्परा, सामूहिक एकता र पुस्तौँबीचको सांस्कृतिक सम्बन्धलाई जीवन्त राख्नु पनि हो। त्यसैले चाडपर्वमा परम्परागत खेलकुदलाई प्रोत्साहन गर्दै नयाँ पुस्तालाई यसको महत्त्व बुझाउन आवश्यक छ।”
संरक्षणका लागि समन्वयात्मक पहलको खाँचो
लिङ्गे पिङको घट्दो आकर्षणसँगै यससँग जोडिएका सामूहिक श्रम, आपसी सद्भाव र सांस्कृतिक पहिचानसमेत कमजोर बन्न सक्ने चिन्ता गाउँघरमा बढेको छ। यस्ता परम्परा जोगाउन स्थानीय समुदाय, युवा पुस्ता, विद्यालय तथा स्थानीय तहले समन्वयात्मक पहल गर्नुपर्ने देखिन्छ।
बेल्टार बसाहा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोविन्द थापाका अनुसार चाडपर्वका अवसरमा सुरक्षित रूपमा लिङ्गे पिङ निर्माण गर्ने, परम्परागत खेलकुदसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने र नयाँ पुस्तालाई सहभागी गराउने प्रयासले यसको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँछ।
आधुनिक प्रविधि र बदलिँदो समयलाई आत्मसात् गर्नु आवश्यक भए पनि आफ्नै मौलिक संस्कृति बिर्सनु हुँदैन। प्रविधिले मनोरञ्जनका अनेक विकल्प उपलब्ध गराए पनि गाउँको चौरमा मच्चिने लिङ्गे पिङको आनन्द, त्यससँग जोडिएका बाल्यकालका सम्झना र सामूहिक आत्मीयताको स्थान सहजै लिन सक्दैन। त्यसैले, लिङ्गे पिङलाई विगतको सम्झनामा मात्र सीमित हुन नदिई यसको संरक्षण र निरन्तरताका लागि सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नु आजको आवश्यकता बनेको छ।








प्रतिक्रिया राख्नुहोस्