तपाईँ सुन्दै हुनुहुन्छः

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने

पोखरा । ‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा छैटौँ बेगनास फिस फेस्टिभल तथा देउसी भैलो प्रतियोगिता हुने भएको छ । 

आगामी कात्तिक १३ देखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवबारे शनिबार कसमस इन्टरनेसनल कलेजको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा हुने महोत्सवले बेगनास क्षेत्रको पर्यटन प्रवद्र्धन, स्थानीय माछाको बजारीकरण, मौलिक कला तथा संस्कृतिको संरक्षण र आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य राखेको छ ।

पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष एवं महोत्सव संयोजक सुरेश लामिछानेले महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिए । महोत्सवमा यस क्षेत्रमा उत्पादन हुने विभिन्न जातका माछा तथा मोती खेतीसम्बन्धी जानकारीमूलक प्रदर्शनी, माछाका परिकारको बिक्री, राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति, पप कन्सर्ट, व्यापारिक मेला, देउसी भैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी र बिक्री गरिने उनले बताए ।

महोत्सवमा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, गोर्खा ब्रुअरी नेपाल लगायत विभिन्न सरकारी तथा निजी क्षेत्रका निकायको सहयोग रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button