फिफा वरीयतामा नेपाल १७८औँ स्थानमा
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपाल फिफा विश्व वरीयतामा एक स्थान तल झरेको छ ।
फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७८औँ स्थानमा रहेको छ । नेपाल यसअघि १७७औँ स्थानमा थियो ।
दक्षिण एसियाली राष्ट्रमध्ये नेपाल तेस्रो स्थानमा छ । १३८औँ स्थानमा रहेको भारत दक्षिण एसियामा पहिलो तथा १७३औँ स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा छन् ।
यस्तै, नेपालपछि बङ्गलादेश १८२औँ स्थानमा रहँदा श्रीलङ्का तीन स्थान सुधार गर्दै १८४औँ स्थानमा पुगेको छ । नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा रहेको श्रीलङ्का पछिल्ला पाँच खेलमा अपराजित छ ।
श्रीलङ्काले चाइनिज ताइपेईलाई ३–१, भुटानलाई ४–१, सेशेल्सलाई ३–० र २–० तथा मौरिससलाई ३–२ गोलले पराजित गरेको थियो ।
भुटान १९२औँ स्थानमा रहँदा पाकिस्तान एक स्थान सुधार गर्दै १९७औँ स्थानमा पुगेको छ ।
यसैबीच, फिफाबाट निलम्बित अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बोलाउन ११ सदस्यले लिखित माग गरेका छन् ।
एन्फा विधानको धारा ३१ को उपधारा २ बमोजिम कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले लिखित माग गरेमा कार्यसमिति बैठक अनिवार्य रूपमा आह्वान गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै ११ सदस्यले बैठक बोलाउन माग गरेका हुन् ।
बैठकमा एन्फाको वर्तमान अवस्थाबारे छलफल गरी आवश्यक निर्णय गर्नुपर्ने माग गरिएको छ । साथै, एन्फाको वर्तमान अवस्थाबाट निकासका लागि नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्समक्ष आवश्यक पहल तथा समन्वय गर्न अनुरोध गर्ने एजेन्डा पनि राखिएको छ ।







प्रतिक्रिया राख्नुहोस्