तपाईँ सुन्दै हुनुहुन्छः

संवेदनशील सूचना चुहाउनेमाथि कारबाही गरिने गृहमन्त्री गुरुङको चेतावनी

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायका गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउनेमाथि कानुनी कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीले पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना चुहाउने प्रवृत्तिलाई लामो समयदेखि नियालिरहेको बताउनुभएको हो ।

राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने बताउनुभएको छ ।

उहाँले प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुनसक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने उल्लेख गर्नुभएको छ ।

राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने र त्यस्ता व्यक्तिलाई कानुनी कठघरामा ल्याइने गृहमन्त्री गुरुङले चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button