पोखरामा विश्व लगानीकर्ता सप्ताह: ‘पोखराबाट मात्रै दैनिक एक अर्बको शेयर कारोबार’
'मुनाफा कमाउने र कर तिर्ने संस्कारलाई सम्मान गर्नुपर्छ: सेबोन अध्यक्ष डा. भट्ट'
पोखरा। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले लगानी मार्फत मुनाफा कमाउने र राज्यलाई कर तिर्ने संस्कारलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

विश्व लगानीकर्ता सप्ताह–२०२६ अन्तर्गत पोखरामा सोमबार आयोजित प्रभातफेरीपछि भएको कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले लगानी र उद्यमशीलतामार्फत मुलुकको अर्थतन्त्रमा योगदान गर्ने व्यक्तिलाई निरुत्साहित नभई प्रोत्साहित गर्ने संस्कारको विकास गर्नुपर्ने आवश्यक रहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो “जसले लगानी गर्छ, मुनाफा कमाउँछ र राज्यलाई कर तिर्छ, त्यो देश नै धनी हुन्छ” । इमानदारीपूर्वक कमाएको सम्पत्तिलाई सम्मान गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष भट्टले धन तथा लगानीप्रतिको नकारात्मक दृष्टिकोणले आर्थिक विकासलाई समेत प्रभावित पार्न सक्ने बताउनु भयो । ‘ अध्यक्ष भट्टले नेपालमा पछिल्लो समय कर्पोरेट संस्कृतिको विकास हुन थालेको बताउँदै पूँजी लगानी गर्ने र पूँजी परिचालन गर्ने पक्षबीचको सम्बन्ध पनि सुदृढ हुँदै गएको उल्लेख गर्नुभयो । लगानीको क्षेत्रलाई थप सुरक्षित र व्यवस्थित बनाउँदै लगानीकर्ताको लगानी सुरक्षामा विशेष ध्यान दिने भट्टले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सानो पूँजी भएका लगानीकर्तालाई समेत पूँजी बजारमा आकर्षित गर्ने गरी नयाँ कार्यक्रम र व्यवस्था अघि बढाउन लागिएको उहाँको भनाई थियो । पछिल्लो समय नेपालको पूँजी बजारले नयाँ किसिमले फड्को मार्न थालेको उल्लेख गर्दै उनले पोखरामा देखिएको लगानीकर्ताको उत्साहजनक सहभागिताले आफूहरूलाई थप उत्साहित बनाएको बताउनु भयो ।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष नितेश कुमार अग्रवालले पोखरा काठमाडौँ पछिको ठूलो पूँजी बजार रहेको दाबी गर्नुभयो । पोखरामा १५ वटा स्टक ब्रोकर हाउसबाट शेयर कारोबार भइरहेको जानकारी दिँदै उहाँले यहाँको कारोबार उत्साहजनक रहेको जनाउनु भयो । पोखरामा पूँजी बजारको सम्भावना राम्रो रहेको उल्लेख गर्दै अग्रवालले लगानीकर्ताको सहभागिता र कारोबारको आकारले पनि पोखराको बजारलाई महत्वपूर्ण बनाएको दाबी गर्नुभयो ।
यसैगरी, स्टक ब्रोकर नम्बर १४ को पोखरा शाखाका प्रमुख गोकुलप्रसाद रिमालका अनुसार पोखरा क्षेत्रमा रहेका १५ वटा स्टक ब्रोकर हाउसबाट दैनिकजसो करिब एक अर्ब रुपैयाँ बराबरको शेयर कारोबार हुने गरेको छ । उहाँका अनुसार पोखरा क्षेत्रमा करिब तीन लाख ग्राहकले प्रत्यक्ष रूपमा शेयर कारोबार गर्दै आएका छन्। पछिल्लो समय शेयर बजारप्रति पोखरा र आसपासका क्षेत्रका नागरिकको आकर्षण बढ्दै गएको उहाँको भनाई छ ।
यसैबिच, विश्वभर मनाइने विश्व लगानीकर्ता सप्ताह–२०२६ अन्तर्गत पोखरामा पहिलो पटक प्रभातफेरी आयोजना गरिएको हो । नेपाल धितोपत्र बोर्डको संयोजन तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको आयोजनामा भएको प्रभातफेरी सोमबार बिहान मानवअधिकार चोकबाट सुरु भएको थियो । प्रभातफेरी चिप्लेढुंगा, न्यूरोड हुँदै सभागृहमा पुगेर समापन समारोहमा परिणत भएको थियो । प्रभातफेरीमा पूँजी बजारसँग सम्बन्धित सरोकारवाला, ब्रोकर प्रतिनिधि, लगानीकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
प्रभातफेरीमार्फत लगानीकर्तालाई सुरक्षित तथा जिम्मेवार लगानीका लागि सचेत गराउने, वित्तीय साक्षरता अभिवृद्धि गर्ने तथा पूँजी बजारका विषयमा आम नागरिकलाई जानकारी गराउने सन्देश दिइएको थियो । विश्व लगानीकर्ता सप्ताहको अवसरमा पोखरामा लगानीसम्बन्धी ज्ञान, आधारभूत पक्ष तथा प्राविधिक विश्लेषणसम्बन्धी वित्तीय सचेतना कार्यक्रमसमेत आयोजना गरिएको छ । आयोजकका अनुसार यस्ता कार्यक्रमले लगानीकर्तालाई बजारका अवसरसँगै जोखिमका विषयमा समेत सचेत बनाउन सहयोग गर्नेछ । उक्त अवसरमा सोमबार साँझ , मंगलबार तथा बुधबार शेयर कारोवार सम्बन्धि छलफल तथा अन्तरक्रिया हुने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्