राष्ट्रियसभा: बाढीपहिरो, बिग्रेका राजमार्ग र ग्यास अभावबारे सरकारको ध्यानाकर्षण
काठमाडौँ। राष्ट्रियसभामा मुलुकका विभिन्न भागमा भएका बाढीपहिरोका घटना, प्रभावित क्षेत्रमा भइरहेका खोज, उद्धार, राहत, सडकको क्षति तथा खाना पकाउने ग्यास अभाव र पूर्वप्रधान न्यायाधीशलाई प्रहरी नियन्त्रणमा लिइएको विषय प्राथमिकताका साथ उठाइएको छ ।

उक्त सभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरुले पछिल्लो अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोबाट जनजीवन प्रभावित भएको जनाउँदै विपद्मा परेका नागरिकलाई समयमै उद्धार, राहत र सहयोग पुर्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सभाका सदस्य घनश्याम रिजाल र विष्णुदेवी पुडासैनीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरी नियन्त्रणमा लिनुपर्ने कारणबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।
सांसद रुक्मिणी कोइरालाले आगामी चाडपर्वलाई ध्यानमा राखेर आमनागरिकको सडक यात्रालाई सुरक्षित र व्यवस्थित तुल्याउन भत्किएका सडकको मर्मत सम्भारमा ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद विष्णुबहादुर विश्वकर्माले खाना पकाउने ग्यासको अभावबारे सरकारको ध्यानाकर्षण गराउँदै दैलेखको जलजलेमा ग्यास उत्खनन र उत्पादन गर्ने कार्यमा सरकारको परिणामुखी पहलको माग गर्नुभयो ।
सांसद श्रीकृष्णप्रसाद अधिकारीले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई तीव्रता दिन माग गर्नुभयो । सांसद सावित्री मल्लले बाढीपहिरो प्रभावितलाई तत्काल राहत र उद्धारको व्यवस्था गर्न तथा क्षतिग्रस्त मुख्य राजमार्ग तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन माग गर्नुभयो ।रासस








प्रतिक्रिया राख्नुहोस्