एफडिआइको प्रतिबद्धता धेरै आए पनि लगानी तीस प्रतिशत मात्रै
काठमाडौँ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) को प्रतिबद्धता धेरै आए पनि वास्तविक रुपमा तिस प्रतिशत मात्रै लगानी हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ५८ अर्ब रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएकोमा २८ अर्ब ४९ करोड रुपियाँ मात्र भित्रिएको छ । अघिल्लो वर्ष प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब दुई करोड रुपियाँ भित्रिएको थियो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष दोब्बरले वैदेशिक लगानी भित्रिएको हो । गत आव जेनजी आन्दोलनका बिचमा पनि भित्रिने रकममा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । प्रत्येक वर्ष प्रतिबद्धता रकम बढ्दै गए पनि सो अनुपातमा रकम कम भित्रिएको छ ।
गत आवमा सबैभन्दा धेरै चीनबाट तीन हजार ७३३, भारतमा ९३२, अमेरिकाबाट ६१०, दक्षिण कोरियाबाट ४२८, हङकङबाट ५७ सङ्ख्यामा लगानीकर्ताको लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ ।
विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका शाखा अधिकृत लोकेन्द्रसिंह नेगीले मुलुकमा प्रतिबद्धताको २५ देखि ३० प्रतिशत मात्र वैदेशिक लगानी भित्रिने गरेको जानकारी दिनुभयो । सूचना प्रविधि क्षेत्रमा लगानीको सीमा नभएका कारण सङ्ख्यामा प्रतिबद्धता धेरै आए पनि लगानी कम आउने गरेको छ । अन्य क्षेत्रका लागि लगानी प्रतिबद्धताको सीमा दुई करोड रहेकोमा र सूचना प्रविधि क्षेत्रमा सीमा नरहेका कारण पनि धेरै सङ्ख्यामा सूचना प्रविधि क्षेत्रका उद्योग दर्ता हुने गरेको पाइन्छ ।
सूचना प्रविधि क्षेत्रमा लगानीको सीमा राखेपछि वास्तविक लगानीकर्ता आएर वैदेशिक लगानी बढ्न सक्ने विभागको अनुमान छ ।
उद्योग विभाग वा लगानी बोर्डबाट स्वीकृति पाएका लगानीकर्ताले तोकिएको समयभित्र लगानी भित्र्याइसक्नुपर्ने प्रावधान छ । साथै २०७७ को नियमावली अनुसार दुई वर्षभित्र सम्पूर्ण लगानी भित्र्याउनुपर्ने व्यवस्था छ ।








प्रतिक्रिया राख्नुहोस्