बाढीपहिरोले लुम्बिनीका १८ सडकखण्ड अवरुद्ध, पाल्पा–गुल्मीमा बढी असर
रुपन्देही । तीन दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र गेग्रानका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १८ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले असोज ११ गते बिहान सार्वजनिक गरेको विवरणअनुसार पाल्पा, गुल्मी, प्युठान, रोल्पा र अर्घाखाँचीका सडकखण्ड अवरुद्ध भएका हुन् ।
प्रहरीका अनुसार गुल्मीमा सात, पाल्पामा पाँच, प्युठानमा तीन, रोल्पामा दुई र अर्घाखाँचीमा एक सडकखण्ड अवरुद्ध छन् ।
गुल्मीमा कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्से, रुद्रबेनी–वामीटक्सार सडकखण्डको चन्द्रकोट गाउँपालिका–७ सिस्नेभिर, मदन भण्डारी सहायक राजमार्गअन्तर्गत छत्रकोट गाउँपालिका–३ शृङ्गा देउराली, तम्घास–रिडी सडकखण्डको रेसुङ्गा नगरपालिका–१० सिमिचौर, रिडी–वामीटक्सार सडकखण्डको चन्द्रकोट गाउँपालिका–८ सोता, गुल्मी–स्याङ्जा सडकखण्डको कालीगण्डकी गाउँपालिका–२ हर्मीचौर र पुर्तिघाट–पुर्तिघाट सडकखण्डको कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाटमा सडक अवरुद्ध भएको छ ।
पाल्पामा रामपुर–आर्यभञ्ज्याङ सडकखण्ड, कालीगण्डकी करिडोरअन्तर्गत रामपुर नगरपालिका–१, सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५, बुटवल–पोखरा सडकखण्डअन्तर्गत तानसेन क्षेत्र र रामपुर–पिपलडाँडा सडकखण्डअन्तर्गत रम्भा गाउँपालिका–१ असर्दीमा सडक अवरुद्ध छ ।
प्युठानमा बाग्दुला–बाहाने सडकखण्डको नौबहिनी गाउँपालिका–६ बाग्दुला, बाहाने–खवाङ सडकखण्डको नौबहिनी गाउँपालिका–६ लाखाचौर र भालुवाङ–प्युठान सडकखण्डको माण्डवी गाउँपालिका–१ कुडुलेमा सडक बन्द भएको छ ।
त्यस्तै, रोल्पामा शहीदमार्गअन्तर्गत रोल्पा नगरपालिका–६ ललामाडा र घोराही–होलेरी सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१३ बाहुनकुनेमा सडक अवरुद्ध छ ।
अर्घाखाँचीमा गोरुसिङ्गे–अर्घाखाँची सडकखण्डअन्तर्गत शितगंगा नगरपालिका–४ ठाडा क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
अवरुद्ध सडकखण्डमध्ये केही स्थानमा सडक खुलाउने प्रयास भइरहेको छ । तर, लगातार वर्षा भइरहेकाले तत्काल यातायात सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
भारी वर्षाका कारण पहाडी क्षेत्रमा थप बाढीपहिरोको जोखिम रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ । यात्रा गर्नैपर्ने भए सम्बन्धित सुरक्षा निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्