तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा वर्षासँगै विपद्का घटना बढे

रुपन्देही। लगातारको वर्षासँगै लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हावाहुरी, पहिरो र डुबानका घटना देखिन थालेका छन् । वर्षासँगै पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ भने तराईका जिल्लामा डुबानको जोखिम रहेको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयमा रहेको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार प्युठानको स्वर्गद्वारी नगरपालिका–२ धर्मशाला तथा गौशालामा हावाहुरीका कारण १९ वटा टिनका पाता उडेका छन् । नौबहिनी गाउँपालिका–७ चोरधारमा पाँच वटा घरको छाना उडाएको छ । विउमन रोकाय, मोतीराम सुनार, टोपाराम सुनार, वीरबहादुर घर्ती र धीरबहादुर जिसीको घरको छाना हावाहुरीले उडाएको केन्द्रले जनाएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ भुजुङमा पहिरोको जोखिम बढेपछि ३० घरधुरी प्रभावित भएका छन् । जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानका रूपमा सामुदायिक भवनमा सारिएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका–भुल्केमा पनि करिब ४० घर पहिरोको जोखिममा परेका छन् । 

जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा वर्षाको पानी घरमा पसेको छ । इलाका प्रहरी कार्यालय सुस्तामा समेत पानी पसेको जानकारी केन्द्रले दिएको छ ।

दाङमा हावाहुरी र वर्षाका कारण किसानले लगाएको धानबालीमा क्षति पुगेको छ । भित्र्याउने तयारीमा रहेको धान ढलेपछि किसान प्रभावित भएका छन् । जिल्लाका केही विद्यालयका छानासमेत हावाहुरीले उडाएको छ ।

लगातारको वर्षाका कारण प्रदेशका विभिन्न स्थानका सडकसमेत अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि यातायात सञ्चालनमा समस्या भएको छ भने कतिपय स्थानमा सडक खुलाउने प्रयास भइरहेको छ । प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार अहिले पनि प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बग्ने र तराई क्षेत्रमा नदी तथा खोलाको बहाव बढेर डुबान हुनसक्ने जोखिम रहेको छ ।

केन्द्रले वर्षाको समयमा नदी, खोला तथा पहिरोको जोखिम रहेका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित निकाय सम्भावित विपद्का घटनामा तत्काल उद्धार तथा राहतका लागि तयारी अवस्थामा खटिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button