तपाईँ सुन्दै हुनुहुन्छः

८ करोड १५ लाख लागतमा नन्दीकेशर सत्तल पुनःनिर्माण हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करिब ८ करोड १५ लाख रुपैयाँ लागतमा नन्दीकेशर सत्तल पुनःनिर्माण गर्ने भएको छ ।

२०७२ सालको भूकम्पबाट जीर्ण भएपछि भत्काइएको सत्तल स्थानीय बीचको फरक मतका कारण लामो समयदेखि पुनःनिर्माण हुन सकेको थिएन । स्थानीयका असहमतिलाई प्रशासनिक तथा न्यायिक प्रक्रियामार्फत सहमतिमा ल्याएपछि महानगरपालिकाले पुनःनिर्माणको काम अघि बढाएको हो ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आज जग पूजा तथा सत्तल पुनःनिर्माणको शिलान्यास गर्नुभयो ।

शिलान्यास कार्यक्रममा कार्यवाहक प्रमुख डङ्गोलले काठमाडौँका ढलेका मूर्त सम्पदा पुनःनिर्माण र हराउँदै गएका अमूर्त सम्पदाको पुनः स्थापनालाई महानगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

उहाँले काठमाडौँका सम्पदा यहाँको पहिचान र इतिहाससँग जोडिएका स्मारक भएकाले तिनको संरक्षण र पुनः निर्माणमा महानगरपालिकाले विशेष ध्यान दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी ढलेका मूर्त सम्पदा पुनःनिर्माण र हराउँदै गएका अमूर्त सम्पदा पुनःस्थापना गरिरहेका छौँ । यी संरचना काठमाडौँका पहिचान र स्मारक हुन् ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button