भोटेकोशी बाढीपछि स्टिल आपूर्ति रोकिँदा एसियाली राजमार्गका तीन पुल प्रभावित
झापा। एसियाली राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही सडक योजनाको पश्चिम खण्डमा निर्माण भइरहेका तीन आधुनिक पुलको काम स्टिल अभावका कारण प्रभावित भएको छ ।
आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार योजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवा तथा मोरङको लोहन्द्रा र बक्राहा नदीमा आधुनिक ‘स्टिल आर्क’ प्रविधिका पुल निर्माण भइरहेका छन् । आवश्यक स्टिलको आपूर्ति हुन नसक्दा निर्माण कार्य प्रभावित भएको उहाँले बताउनुभयो ।
तातोपानी नाका बन्द भएपछि केरुङ–रसुवागढी नाका हुँदै स्टिल ल्याउने गरिएकोमा गत साउन १० गतेको भोटेकोशी बाढीले सडक अवरुद्ध गरेपछि आपूर्ति पूर्णरूपमा रोकिएको उहाँले जानकारी दिनुभयो । नेपालमा पुल निर्माणका लागि आवश्यक गुणस्तरको ४२० ग्रेडको स्टिल उपलब्ध नहुने भएकाले भारतबाट अर्डर गरेर ल्याउनुपरेको र समयमै आपूर्ति हुन नसक्दा कामले गति लिन नसकेको उहाँले बताउनुभयो ।
“अहिले भारतबाट अर्डर गरेर मात्र पुल निर्माणमा चाहिने स्टिल ल्याउने गरेका छौँ”, उहाँले भन्नुभयो, “नेपालमा गुणस्तरीय ४२० ग्रेडको स्टिल पाइँदैन । अर्डर गर्नुपरेकाले भारतबाट समेत भनेको समयमा नआउँदा समस्या भएको छ ।”
आयोजनाका अनुसार तीनवटै पुल निर्माणमा हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको छ । रतुवा पुलको निर्माण भने ५२ प्रतिशत पूरा भएको छ । सम्झौताअनुसार पुल निर्माण आगामी २०८३ माघ १ गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि सामग्री अभावका कारण तोकिएको समयमै काम सम्पन्न गर्न कठिन हुने आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।
रतुवा नदीमा ५८५ मिटर, लोहन्द्रा नदीमा ३८५ मिटर र बक्राहा नदीमा ३१८ मिटर लामो पुल निर्माण भइरहेको छ । तीनवटै पुलमा आधुनिक ‘स्टिल आर्क’ प्रविधि प्रयोग गरिने उहाँले बताउनुभयो ।
तीनवटा पुल निर्माणको ठेक्का कोभेक–सिआरइजिसी–चाइना स्टेट सेभेन्थ जेभीले रु पाँच अर्बमा लिएको छ । पुलमा प्रयोग हुने स्टिल संरचनासम्बन्धी उच्च प्राविधिक काम चिनियाँ कम्पनीले गर्ने तथा अन्य सिभिल निर्माणका काम नेपाली साझेदार कम्पनीले गरिरहेको उहाँले बताउनुभयो ।
रतुवा नदीमा निर्माण हुने ५८५ मिटर लामो ‘सिग्नेचर’ पुलमा २६४ मिटर खण्ड स्टिल आर्क र बाँकी खण्ड कङ्क्रिटको हुनेछ । उक्त पुलमा तीनवटा स्पान रहनेछन् । लोहन्द्रा नदीको ३८५ मिटर लामो पुलमा ८०–८० मिटरका दुईवटा स्टिल स्पान रहनेछन् । बक्राहा नदीको ३१८ मिटर लामो पुलमा पनि दुईवटा स्पान रहने जनाइएको छ ।
वर्षायाममा समेत पुल निर्माणको काम भइरहेको छ । हाल रतुवा नदीको पुललाई प्राथमिकतामा राखेर निर्माण अघि बढाइएको छ । रतुवा पुलको काम सकिएपछि लोहन्द्रा र बक्राहा पुलको निर्माणलाई तीव्रता दिइने आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।
झापाको सितापुरीदेखि मोरङको गोठगाउँसम्मको करिब ४० किलोमिटर सडक खण्डमा यी तीन पुल निर्माण भइरहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्