तपाईँ सुन्दै हुनुहुन्छः

बेरोजगारी : वन्यजन्तु अपराधको कारण !

दोलखा । गौरीशङ्कर संरक्षण क्षेत्रमा दोलखाको बिगु, लप्ची, लामाबगर, खारे, मार्बु र श्यामा, सिन्धुपाल्चोकको थिंगसाङ तथा रामेछापको गुम्देलबाट धेरै मात्रामा वन्यजन्तुको अवैध व्यापार हुने गरेको संरक्षण प्रमुख सन्तोष शेरचनले बताएका छन् ।

वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि दोलखा, रामेछाप र सिन्धुपाल्चोकका पत्रकारहरूसँग गौरीशङ्कर संरक्षण क्षेत्रले गरेको अन्तरक्रिया कार्यक्रममा संरक्षण प्रमुख शेरचनले नेपालबाट वन्यजन्तुको छाला, हड्डी, वीणा, खाग, दाह्रा लगायतको अवैध व्यापार हुने गरेको बताए । गौरीशङ्कर संरक्षण क्षेत्रबाट पनि संरक्षण क्षेत्र भित्र पाईने विभिन्न प्रजातिका बन्यजन्तुहरुको विभिन्न अङ्ग, जडीबुटी, काठ लगायतको अवैध व्यापार हुने गरेको शेरचनको भनाई छ ।

गौरीशङ्कर संरक्षण क्षेत्रले वन्यजन्तु अपराध नियन्त्रणका लागि वन पैदावार ओसारपसारको अनुमति दिएको, मानव– वन्यजन्तु सह– अस्तित्वका प्रयासहरू भएको जसमा दुई सय १४ वन्यजन्तु क्षति र ५९ अन्नबाली क्षतिमा राहत उपलब्ध गराइएको, अनाथ तथा घाइते वन्यजन्तुको उद्धार र पुनर्स्थापना गरिएको संरक्षण प्रमुख शेरचनको भनाई छ । 

मुख्य त गरिबी तथा बेरोजगार, बजारमा माग र आपूर्तिको सम्बन्ध, संरक्षण सचेतनाको कमी, छिमेकी मुलुकहरू सँगको खुला सिमाना, समयमा सही सूचना आदान– प्रदानमा समस्या, क्षेत्रीय स्तरमा वन्यजन्तु अपराध सम्बन्धि आधारभूत तथ्याङ्कको अभाव जस्ता कारणले वन्यजन्तु अपराध बढेको गौरीशङ्कर संरक्षण क्षेत्रले जनाएको छ । 

सरकारले वन्यजन्तु अपराध नियन्त्रणको लागि राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समिति, केन्द्रीय स्तरको वन्यजन्तु अपराध नियन्त्रण इकाई, प्रदेश वन्यजन्तु नियन्त्रण इकाई र जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाई बनाएको संरक्षण प्रमुख सन्तोष शेरचनको भनाई छ ।

वन्यजन्तु अपराध नियन्त्रणको लागि चोरी– शिकारी नियन्त्रण इकाईलाई अझ बढी क्रियाशील बनाउने, मुख्य नाकाहरूमा सुराकी संयन्त्रहरूलाई मजबुद बनाउने, समुदायमा आधारित चोरी शिकारी नियन्त्रण समूहलाई मजबुद र सक्रिय बनाउने, नीति– कानुनको प्रभावकारी कार्यान्वयन गर्ने, बन गस्तीमा आधुनिक प्रविधिहरूको प्रयोग जस्ता कुराहरूमा ध्यान दिनुपर्ने शेरचन बताउँछन् ।

कार्यक्रममा जिल्ला बन कार्यालय दोलखाका प्रमुख अनिल रेग्मी, गौरीशङ्कर संरक्षण क्षेत्रका सूचना अधिकारी बिदुर खड्का, गौरीशङ्कर संरक्षण क्षेत्र चाकु (सिन्धुपाल्चोक) कार्यालय प्रमुख प्रवेश पौडेल, नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष प्रभु जिरेल, नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकको अध्यक्ष ध्रुब दंगाल, नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष दिपक घिमिरे लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button