तपाईँ सुन्दै हुनुहुन्छः

७२ वर्षको उमेरमा भुन्टी लुहारले पाउनुभयो नेपाली नागरिकता

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–१, पितल्थलाकी ७२ वर्षीया भुन्टी लुहारले ७२ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गर्नुभएको छ।

अविवाहित तथा एकल वृद्धा लुहारलाई प्रमुख जिल्ला अधिकारी मिना अर्यालले वडा कार्यालयमै पुगेर नागरिकता प्रदान गर्नुभएको हो।

बौद्धिक अपाङ्गता समेत रहनुभएकी लुहार बुवा आमाको सहारामा जीवन बिताउँदै आउनुभएको थियो। बुवा आमाको निधनपछि भने उहाँ दाजुको सहारामा जीवन निर्वाह गर्दै आउनुभएको छ।

राज्यले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँछ भन्ने जानकारी समेत नभएकी लुहार नागरिकता पाएपछि अब भत्ता पाउने भएपछि खुसी हुनुभएको छ।

स्थानीयका अनुसार गाउँमा अझै पनि नागरिकता, सामाजिक सुरक्षा भत्तालगायत राज्यले उपलब्ध गराउने सेवा–सुविधाबारे जानकारी नहुँदा धेरै नागरिक त्यस्ता सुविधाबाट वञ्चित भइरहेका छन्। राज्यका सेवा–सुविधाबारे नागरिकलाई जानकारी गराउँदै पहुँच नपुगेका व्यक्तिसम्म सेवा पुर्‍याउनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button