७२ घण्टामै तयार भयो तादी खोलामा पुल, रसुवाको लाइफलाइन खुल्यो

नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएको तादी खोलाको पुल पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
बाढीले सडक तथा पुल बगाएपछि अवरुद्ध भएको रसुवा–नुवाकोट सडक सम्पर्क नेपाली सेनाले ७२ घण्टामै तादी खोलामा नयाँ एक्रोब्रिज निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
पुल सञ्चालनमा आएसँगै धादिङको गल्छीदेखि रसुवाको धुन्चेसम्मको मुख्य सडक सम्पर्क पुनः जोडिएको छ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवाको उत्तरी क्षेत्रमा जाने मुख्य सडक तथा पुलमा ठूलो क्षति पुर्याएपछि रसुवा, नुवाकोटलगायत भोटेकोशी आसपासका क्षेत्रको यातायात सम्पर्क प्रभावित भएको थियो ।

बाढीले सडक र पुलमा क्षति पुर्याउँदा अत्यावश्यक सामग्री ढुवानी, उद्धार तथा राहतका काम समेत प्रभावित भएका थिए ।
बाढीबाट अवरुद्ध सडक सञ्चालनमा ल्याउन नेपाली सेना र सडक विभागको सहकार्यमा तादी खोलामा ट्रिपल सिङ्गल रिइन्फोस्र्ड ( TRSR3H) प्रकारको पुल निर्माण गरिएको हो ।
लम्बाइ ५७.९ मिटर र चौडाइ ५.५ मिटर रहेको पुलको भारवहन क्षमता ६० टन रहेको नेपाली सेनाले जनाएको छ ।
६० टन भारवहन क्षमताको पुलबाट ठूला मालवाहक सवारीसाधन समेत आवतजावत गर्न सक्नेछन् । पुलको पहुँच हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ । यसले बाढीपछि रोकिएको अत्यावश्यक सामग्रीको ढुवानी र नागरिकको आवतजावतलाई सहज बनाएको छ ।
नेपाली सेनाको १४ नम्बर बाहिनीको पहलमा सडक विभागसँगको समन्वयमा पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि आवश्यक सामग्री गोल्छीबाट ढुवानी गरी निर्माणस्थलमा पुर्याइएको थियो । पुल निर्माणसँगै गल्छीदेखि पुलसम्मको सडकसमेत सुधार गरी सञ्चालनमा ल्याइएको सेनाले जनाएको छ ।

आयोजनाका प्रमुख कर्णबहादुर थापाले निरन्तरको बाढीका कारण सडक तथा पुल अवरुद्ध भएपछि यातायात सञ्चालनमा ल्याउन नेपाली सेना निरन्तर खटिएको बताउनुभयो ।
सडक विभागअन्तर्गतको सडक आयोजनाका प्रमुख कृष्णनाथ ओझाले छोटो समयमा पुल निर्माण गरी सडक सञ्चालनमा ल्याउन नेपाली सेनाले गरेको काम प्रशंसनीय रहेको बताउनुभयो ।
१४ नम्बर बाहिनीका प्रमुख सहायक रथी जगदीश खडकाले विपत्का बेला नेपाली सेना नागरिकको उद्धार र राज्यको पहुँच पुनः स्थापित गर्न जुनसुकै अवस्थामा परिचालित हुन तयार रहेको बताउनुभयो ।
नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीका कारण सडक दुईतर्फी रूपमा अवरुद्ध हुँदा नागरिकको आवतजावतसँगै राज्यको पहुँचसमेत प्रभावित भएको बताउनुभयो ।
तादी खोलाको पुल सञ्चालनमा आएसँगै गल्छी–धुन्चे सडकखण्डबाट राहत, उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न सहज भएको छ । पुलसँगै सडकका अन्य क्षतिग्रस्त खण्डसमेत क्रमशः सुधार हुँदै गएकाले रसुवासँगको सडक सम्पर्क थप सहज हुने अपेक्षा गरिएको छ ।
बाढीले क्षतिग्रस्त पूर्वाधार पुनःस्थापनामा नेपाली सेनाले खोज तथा उद्धारसँगै सडक, पुल र अन्य पहुँच संरचना निर्माणलाई समेत प्राथमिकता दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्