प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने भ्रमण कार्यक्रम स्वीकृत
उद्योग मन्त्रीमा दीपक शाह सिफारिस
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा आगामी असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने भ्रमण कार्यक्रम स्वीकृत गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा हुने कार्यक्रममा प्रधानमन्त्री शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने र अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले बताउनुभयो ।
बैठकले काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कूल २७ स्थानीय तहका १७ हजार ४ सय ३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल, सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्ति गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रवक्ता पोखरेलले पत्रकारहरूको जिज्ञासामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीका लागि सांसद दीपक कुमार शाहको नाम सिफारिस गरिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्