तपाईँ सुन्दै हुनुहुन्छः

आज मन्त्रिपरिषद् बैठक बस्दै,बाढी प्रभावितको पुनःस्थापना मुख्य एजेन्डा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयसँगै बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल हुने भएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई प्राथमिकतामा राख्दै आएको छ। घाइतेको उपचार, राहत वितरण तथा विस्थापितको पुनर्स्थापनाका लागि विभिन्न सरकारी निकाय परिचालन गरिएका छन्।

बाढीबाट प्रभावित नागरिकको अवस्था, जारी उद्धार तथा राहत अभियानको प्रगति र आगामी दिनमा चाल्नुपर्ने कदमबारे बैठकमा समीक्षा हुने बताइएको छ।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय लिन बैठक बोलाउनुभएको हो। बाढीका कारण क्षतिग्रस्त भौतिक संरचना तथा प्रभावित नागरिकको पुनर्स्थापनाका लागि आवश्यक थप व्यवस्थाबारे समेत बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।

सरकारले बाढी प्रभावित क्षेत्रमा तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापनाको कामलाई अघि बढाउने तयारी गरिरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button