डिलाशैनीमा २६ जना अपाङ्गता भएका व्यक्ति नागरिकताबाट वञ्चित
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले कार्यालयमा आएर नागरिकता लिन नसक्नेहरूको विवरण सङ्कलनको काम गरिरहेका बेला जिल्लाको डिलाशैनी गाउँपालिकामा सबै भन्दा बढी २६ जना अपाङ्गता भएका नागरिक नेपाली नागरिकताबाट वञ्चित भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

जिल्ला प्रशासन कार्यालयले अपाङ्गता भएका व्यक्तिको विवरण पठाउन स्थानीय तहहरूलाई यसअघि नै आग्रह गरिसकिएको थियो । सोही क्रममा स्थानीय तहहरुले अहिले विवरण सङ्कलन गरि तथ्याङ्क सार्वजनिक गरिरहेका प्रमुख जिल्ला अधिकारी मिना अर्यालले बताउनुभयो ।
बैतडीमा अशक्त नागरिकलाई घरमै नागरिकता वितरण कार्य समेत शुरु भैसकेको छ । अशक्तको घरमा प्रजिअ कार्यक्रम अन्तर्गत नागरिकता वितरण कार्य शुरु गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा आउन नसक्ने अपाङ्गता भएका र वृद्ध वृद्धालाई घरमै गएर नागरिकता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ रहेको छ ।
अहिलेसम्म जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाले अशक्त/अपाङ्गता भएका नागरिकहरूको विवरण प्रशासन कार्यालयमा पठाएको सहायक प्रमुख जिल्ला अधिकारी भोजलाल थारुले बताउनुभयो । स्थानीय तहहरूबाट प्राप्त विवरण अनुसार सबैभन्दा बढी २६ जना डिलाशैनी गाउँपालिकामा अशक्त÷अपाङ्गता भएका नागरिक भेटिएका हुन । उनीहरुलाई नागरिकता वितरणका लागि प्रक्रिया शुरु गरिसकिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।
जिल्लाको पाटन नगरपालिकामा पाँच जना अशक्त/अपाङ्ग रहेका छन् भने पुर्चौंडी नगरपालिकामा नागरिकता नभएका अशक्त/अपाङ्ग नागरिक नरहेका बताइएको छ । जिल्लाका अन्य स्थानीय तहहरूलाई पनि यथाशक्य चाँडो विवरण उपलब्ध गराउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थारुले बताउनुभयो ।
बैतडीमा पाँच वर्षपछि जिल्ला प्रशासनबाट अशक्त नागरिकको घरमै गएर नागरिकता दिन थालिएको हो । मानसिक अपाङ्गता भएकी छोरीलाई जिल्ला प्रशासनमा लैजान नसकेर अहिलेसम्म नागरिकता बनाउन नसकेको अस्मिताकी आमा कमला पन्तले बताउनुभयो । छोरीको नागरिकता घरमै पाउँदा खुसी लागेको उहाँको भनाइ रहेको छ । गएको बिहीबार जिल्लाको दशरथचन्द नगरपालिका–६ की ‘क’ वर्गकी मानसिक अपाङ्गता भएकी अस्मिता पन्तलाई घरमै गएर नागरिकता प्रदान गरिएको थियो । प्रशासनमा प्राप्त विवरण अनुसार पन्तलाई घरमै गएर नागरिकता वितरण गरिएको बताइएको छ ।
यस्तै जिल्लाको सदरमुकाम समेत रहेको दशरथचन्द नगरपालिकामा चार जनामध्ये एक जनालाई नागरिकता वितरण गरिसकिएको छ । बाँकी तीन जनालाई पनि घरमै गएर नागरिकता दिइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्