जुनसुकै कम्पनीको सिलिन्डरमा ग्यास भर्न मन्त्री यादवको निर्देशन
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताले जुनसुकै कम्पनीको खाली ग्यास सिलिन्डर ल्याए पनि ग्यास भरेर उपलब्ध गराउने व्यवस्था गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले उक्त निर्देशनको उल्लङ्घन भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताउनुभयो ।
बैठकमा मन्त्री यादवले पठाइएका ग्यास सिलिन्डरमध्ये केही बजारमा नपुगेको विषयमा अनुगमन गर्दा पनि स्पष्ट जानकारी प्राप्त हुन नसकेकोमा आपत्ति जनाउँदै नेपाल आयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग सञ्चालन गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री यादवले तेल, ग्यास, लत्ताकपडा, खाद्यान्न र चिनीमा मुलुकलाई आत्मनिर्भर बनाउन आवश्यक कदम चाल्नुपर्ने समेत बताउनुभयो ।
बैठकमा चाडपर्वको समयमा आम नागरिक तथा विद्यार्थीहरूलाई ग्यासको अभावले भइरहेको असहजता रोक्न ग्यासको आपूर्ति, वितरण र मौज्दातको प्रभावकारी अनुगमन र कालोबजारी नियन्त्रण गर्नुपर्ने सांसदहरुले बताउनुभयो ।
यस्तै सांसदहरूले सुत्केरी महिला लगायत सर्वसाधारणहरू लामो समयसम्म लाइनमा बसेर रकम तिर्न तयार हुँदासमेत ग्यास नपाउने अवस्था चिन्ताजनक रहेको बताउँदै विद्युतीय चुलोको प्रवद्र्धन र ग्यास सिलिन्डरको भर्चुअल ट्र्याकिङ प्रणाली अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्