विषम परिस्थितिका कारण पुम्दी–भुम्दी पर्वतीय दौड दुई साता सर्यो, असोज २४ मा हुने

पोखरा । असोज १० गते आयोजना गर्ने तयारी गरिएको तेस्रो संस्करणको पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता देशमा उत्पन्न विषम परिस्थितिका कारण दुई साता पछि सरेको छ । प्रतियोगिता आगामी असोज २४ गते शनिबार हुने भएको आयोजकले जनाएको छ ।
भोटेकोशीमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति हुनुका साथै पोखरा–काठमाडौँ सडकखण्डअन्तर्गत कृष्णभीरमा सडक भासिएर पृथ्वीराजमार्ग प्रभावित भएपछि निर्धारित समयमा प्रतियोगिता सञ्चालन गर्न कठिन हुने अवस्था देखिएपछि मिति सारिएको आयोजक पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रले जनाएका छन् ।
प्रतियोगिताको मूल आयोजक समितिको आज साँझ बसेको बैठकले नयाँ मिति तय गरेको हो । बैठकले देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै प्रतियोगितालाई थप व्यवस्थित, भव्य र सभ्य रूपमा सम्पन्न गर्ने गरी तयारीलाई केही समयका लागि स्थगित गरी भदौ २४ गतेदेखि पुनः सक्रिय रूपमा तयारी अघि बढाउने निर्णय गरेको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिनुभयो ।
बैठकले भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । विपद्मा परेकाहरूको उद्धार तथा राहतका लागि राज्यले अघि सारेको अभियानमा सबै पक्षको साथ र सहयोग आवश्यक रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि खेलाडी दर्ता भने असोजको पहिलो साताबाट खुला गर्ने तयारी गरिएको छ । खेलाडीहरूले पोखरा क्लिकको अनलाइन पोर्टलमार्फत दर्ता गर्न सक्ने केन्द्रका सचिव सागर सुनारले जानकारी दिनुभयो ।
हरेक वर्ष विश्व पर्यटन दिवसको अघिल्लो शनिबार आयोजना हुँदै आएको प्रतियोगिता यसपटक भने नेपालीहरूको महान् पर्व विजया दशमीको अवसर तथा घटस्थापनाको अघिल्लो शनिबार पार्ने गरी असोज २४ गते आयोजना गर्न लागिएको पोखरा प्रवद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले बताउनुभयो । यस वर्ष विश्व पर्यटन दिवस असोज ११ गते आइतबार परेको छ । विश्व पर्यटन दिवसका अवसरमा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने कार्यक्रमलाई केन्द्रले सहयोग गर्ने जनाएको छ ।
पुम्दी–भुम्दी क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै खेल पर्यटनलाई जोड्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगितामा देश तथा विदेशका धावकलाई सहभागी गराउने तयारी छ । गत वर्षको प्रतियोगितामा सात देशका १६७ जना धावक सहभागी भएका थिए ।
यस वर्षको प्रतियोगितालाई विगतभन्दा अझ व्यवस्थित बनाउँदै पुम्दी–भुम्दी क्षेत्रका पर्यटकीय गन्तव्यलाई खेल तथा साहसिक पर्यटनसँग जोड्ने आयोजकको तयारी छ । प्रतियोगिताले पुम्दी–भुम्दीको प्राकृतिक सौन्दर्य, धार्मिक स्थल, पदमार्ग तथा नयाँ पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
देश सामान्य अवस्थामा फर्किएसँगै प्रतियोगिताको तयारीलाई तीव्रता दिइने आयोजकले जनाएको छ । प्रतियोगितालाई केवल खेलकुदको कार्यक्रमका रूपमा नभई पुम्दी–भुम्दी क्षेत्रको पर्यटन प्रवद्र्धन र पोखराको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने अभियानमा थप टेवा पुग्ने केन्द्रले विश्वास लिएको छ ।







प्रतिक्रिया राख्नुहोस्