तपाईँ सुन्दै हुनुहुन्छः

राहत रकम दाखिला गर्ने दाताहरू बढ्दै

काठमाडौँ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरूको सङ्ख्या बढ्दै गएको छ ।

काठमाडौँ: नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले अर्थमन्त्री डा वाग्लेमार्फत रु ५० लाख प्रधानमन्त्री दैविप्रकोप राहत कोषमा जम्मा गरेको छ । उक्त रकम नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले आज अर्थमन्त्रीलाई प्रदान गर्नुभएको हो । 

सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्यद्धय यमुना श्रेष्ठ र हेमन्त गोल्छा, कार्यकारी निर्देशक राजकुमार दुलाललगायतको सहभागिता थियो । नेपाल भलिबल लिग (एनभिएल) ले पहिलो दिनको टिकट बिक्रीबाट जम्मा भएको रु पाँच लाख ९० हजार १५० राहत कोषमा दाखिला गरेको छ ।

भोजपुर: हतुवागढी गाउँपालिकाले रु २४ लाख ५३ हजार ५०४   प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ । पालिकाले उक्त रकम जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य कर्मीको मासिक तलबबाट सङ्कलन गरी जम्मा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । 

चितवन:  कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाले रु ४६ लाख राहत कोषमा जम्मा गरेका छन् । पालिकाले उक्त रकम जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्यकर्मीको मासिक तलबबाट सङ्कलन गरी जम्मा गरिएको इच्छाकामना गाउँपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो ।  

गाउँपालिकाले भोटेकोशी बाढीमा परी बेपत्ता भएका परिवारको खोजीका लागि थप जनही रु २५ हजार सहयोग गर्नुभएको छ । पालिकाले आफ्नो पालिकामा स्थायी बसोबास भई भोटेकोशी नदीको बाढीमा परी बेपत्ता भएकाको खोजीका लागि सहयोग गर्न लागेको हो । 

चितवनका ७५० कैदीबन्दीले भोटेकोशी बाढीबाट  प्रभावित १२५ परिवारलाई रु तीन लाख ६७ हजार ३६ बराबरको बन्दो बस्तीका सामान खरिद गरी सहयोग गरेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई सोमबार कारागार परिसरभित्र बन्दीहरूले उक्त सामाग्री हस्तान्तरण गरेका हुन । उहाँहरूले डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नङ्कटर, साबुन, ब्रस, मञ्जन र काहियो  उपलब्ध गराएका छन् ।

वीरगञ्जः पर्सा जिल्लाका दुई मेडिकल कलेजले संयुक्त रुपमा रु ७५ लाख राहत कोषमा दाखिला गरेका छन् । नेशनल मेडिकल कलेज वीरगञ्ज र नेपाल मेडिकल कलेज, काठमाडौँले उक्त रकम जम्मा गरेको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले जानकारी दिनुभयो । 

वीरगञ्ज सुनचाँदी व्यवसायी तथा समाजसेवी नीरज सर्राफले रु दुई लाख ५१ हजार राहत कोषमा दाखिला गरेका छन् ।  साउथ जोन माध्यमिक विद्यालयले रु एक लाख ५५ हजार ५५३ कोषमा जम्मा गरेका छन् । उक्त रकम सो विद्यालयमा पढ्ने विद्यार्थी, अभिभावक तथा कर्मचारी एवं शिक्षकको स्वैच्छिक सहयोगबाट सङ्कलन गरिएको हो । 

यहाँका विभिन्न क्लबले जम्मा गरेका रु ९५ हजार ७८३ कोषमा जम्मा गरिएको छ । 

हुम्ला:  बाढीपीडितको राहतका लागि हेड नेपाल,  हुम्लाले रु ५१ हजार १११ राहत कोषमा दाखिला गरेको हेड नेपाल, हुम्लाका प्रमुख छिटुप लामाले बताउनुभयो । उक्त रकम जिल्ला प्रशासन कार्यालय, हुम्लामार्फत औपचारिक रूपमा कोषमा हस्तान्तरण गरिएको हो । 

बागलुङ: काठेखोला गाउँपालिकाको समन्वयमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख एक हजार २७५ कोषमा दाखिला भएको छ । बिहुँकोट अन्तर्राष्ट्रिय  समाज, बिहुँकोटले रु पाँच लाख तथा काठेखोला गाउँपालिका–२ भीमापोखराका जनप्रतिनिधि, स्थानीय आमा समूह, वन उपभोक्ता समिति, सामुदायिक समूह तथा समाजसेवीबाट रु एक लाख एक हजार २७५ गरी कूल छ लाख एक हजार २७५ कोषमा दाखिला गरिएको गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button