तपाईँ सुन्दै हुनुहुन्छः

मल अभावले बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

बाँके ।धानमा गाँज लाग्ने महत्वपूर्ण समयमा रासायनिक मलको अभाव भएपछि बाँकेका किसानले यस वर्ष धान उत्पादन घट्ने चिन्ता व्यक्त गरेका छन्। ढिलो गरी वर्षा भए पनि गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँको क्षेत्रफल बढेको अवस्थामा आवश्यक समयमा मल नपाउँदा उत्पादन प्रभावित हुने किसानको गुनासो छ।

नरैनापुरका किसान नजिर खाँले धानमा गाँज लाग्न थालेकाले अहिले रासायनिक मल आवश्यक भए पनि बजारमा मल नपाएको बताउनुभयो।

“धानमा गाँज लाग्न थालेको छ। अहिले मल चाहिएको छ। तर मल पाइँदैन,” उहाँले भन्नुभयो, “मल नपाएपछि उत्पादन घट्ने चिन्ता भएको छ।”

उहाँका अनुसार विगतमा नेपालमा मलको अभाव हुँदा सीमापारिबाट दुई–चार बोरा मल ल्याएर किसानले आवश्यकता पूरा गर्दै आएका थिए। तर यस वर्ष सीमामा कडाइ गरिएका कारण एक बोरा मलसमेत ल्याउन नपाएको उहाँले बताउनुभयो।

बेतहनीका किसान श्याम खटिकले पनि धानमा गाँज लाग्ने समयमा मल नपाउँदा समस्या भएको बताउनुभयो।

“धानमा गाँज लाग्ने बेला मल हाल्नुपर्छ। अहिले मल छैन,” उहाँले भन्नुभयो, “विगतमा नेपालमा नपाए सीमापारिबाट ल्याएर काम चलाउँथ्यौँ। यसपटक नाकामा कडाइ भएकाले ल्याउन पनि पाइएन।”

३३ हजार ५०३ हेक्टरमा धान रोपाइँ
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लाका अधिकांश किसानले समयमै रासायनिक मल नपाएको गुनासो गरेका छन्। धानको वृद्धि–विकासको महत्वपूर्ण समयमा मल उपलब्ध हुन नसक्दा उत्पादनमा प्रत्यक्ष असर पर्न सक्ने केन्द्रले जनाएको छ।

केन्द्रकी सूचना अधिकारी सुजिता शर्माका अनुसार गत वर्ष बाँकेमा ९९ दशमलव ५ प्रतिशत धान रोपाइँ भएकोमा यस वर्ष ९९ दशमलव ८ प्रतिशत रोपाइँ भएको छ।

जिल्लामा धान खेती हुने कुल ३३ हजार ५७० हेक्टर क्षेत्रफलमध्ये यस वर्ष ३३ हजार ५०३ हेक्टरमा धान रोपाइँ भएको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार धान रोपेको करिब २० देखि २५ दिनमा गाँज लाग्ने भएकाले उक्त समयमा रासायनिक मलको आवश्यकता पर्छ। त्यसैगरी धान रोपेको करिब ५० दिनपछि बाला पसाउने समयमा पनि मल आवश्यक हुन्छ।

यी दुवै महत्वपूर्ण चरणमा किसानले मल अभावको गुनासो गरिरहेका कारण यस वर्ष धान उत्पादन घट्न सक्ने शर्माको भनाइ छ।

“गाँज लाग्ने र बाला पसाउने समयमा मल आवश्यक हुन्छ। अहिले किसानले मल नपाएको गुनासो गरेका छन्,” शर्माले भन्नुभयो, “यही अवस्था रहेमा धान उत्पादन घट्न सक्छ।”

गत वर्ष डेढ लाख मेट्रिक टन धान उत्पादन
कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष बाँकेमा एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो।

विगतमा स्थानीय बजारमा पर्याप्त मल उपलब्ध नहुँदा सीमापारिबाट मल ल्याएर किसानले आवश्यकता पूरा गर्दै आएका थिए। तर यस वर्ष सीमामा कडाइ गरिएपछि मल अभाव थप चर्किएको केन्द्रले जनाएको छ।

मागअनुसार मल नआउँदा अभाव
कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा प्रमुख पुष्पराज श्रेष्ठले किसानको मागअनुसार रासायनिक मल प्राप्त हुन नसक्दा अभाव भएको बताउनुभयो।

उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले बाँकेका लागि चार हजार ८२२ मेट्रिक टन युरिया, दुई हजार ६३३ मेट्रिक टन डिएपी र २०७ मेट्रिक टन पोटास बिक्री गरेको थियो।

चालु आर्थिक वर्ष २०८३/८४ मा हालसम्म एक हजार १७ मेट्रिक टन युरिया, २९९ दशमलव ४०० मेट्रिक टन डिएपी र २७ दशमलव ३५० मेट्रिक टन पोटास स्थानीय तहमा पठाइएको श्रेष्ठले जानकारी दिनुभयो।

किसानको मागको तुलनामा प्राप्त मलको मात्रा निकै कम रहेकाले जिल्लामा अभाव देखिएको उहाँले बताउनुभयो।

यस वर्ष धान रोपाइँको क्षेत्रफल बढेको भए पनि उत्पादनका लागि आवश्यक पर्ने रासायनिक मल समयमै उपलब्ध नहुँदा किसान चिन्तित बनेका छन्। धानमा गाँज लाग्ने र बाला पसाउने दुवै महत्वपूर्ण चरणमा मलको सहज उपलब्धता हुन नसके उत्पादन र उत्पादकत्वमा असर पर्न सक्ने कृषि क्षेत्रका अधिकारीहरूको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button