तपाईँ सुन्दै हुनुहुन्छः

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा । यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्न २९ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागको गत पछिल्लो तथ्याङ्कअनुसार २९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् ।

विभागबाट अहिलेसम्म कुल ३२ टोलीका ३६७ जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र २९ टोलीका ३४८ आरोही रहेको विभागले जनाएको छ ।

यस हिमालबाट यस सिजनका लागि जारी पर्वतारोहण अनुमतिबाट रु १५ करोड ९६ लाख २० हजार ८२८ रोयल्टी सङ्कलन भइसकेको पर्यटन विभागले जनाएको छ । त्यसमध्ये मनास्लुका आरोहीबाट मात्र रु १५ करोड ८७ लाख ५६ हजार २५० राजस्व सङ्कलन भएको छ ।

गोरखाको चुमनुब्री एक, सामागाउँमा रहेको आठ हजार १६३ मिटर उचाइको मनास्लुमा केही वर्षदेखि पर्वतारोहीको आकर्षण बढ्दै गएको छ । अहिले मनास्लु हिमाल आरोहणका लागि शेर्पाहरूले क्याप निर्माण गर्ने र बाटो बनाउने काम गरिरहेको आरोही नाङ्स्याल छोदेनले बताउनुभयो । आरोहीहरू भने सोमबार (सेप्टेम्बर ७)पछि मात्र बेसक्याप आउने उहाँले जानकारी दिनुभयो । 

हाल बेसक्याप नजिकै रहेको सामागाउँ आरोही र उनीहरूका सहयोगीले खचाखच भरिएको छोदेनको भनाइ छ ।  मनास्लु हिमाल संसारको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । यसलाई किलर माउन्टेनका रूपमा पनि चिनिन्छ ।

मनास्लु हिमालको बेसक्याम्प सामागाउँबाट दुई घण्टाको पैदल दूरीमा छ । बेसक्याम्प गाउँ नजिकै रहनुले आरोहीको रोजाइमा पर्ने गर्छ । आरोहीले यहाँबाट मनास्लुको चुचुरोमा पुग्न एक सातादेखि एक महिनासम्म लगाउने गर्छन् । सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button