‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक’
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले मानव बेचबिखन तथा ओसारपसारमुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताउनुभएको छ ।
मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २०औँ राष्ट्रिय दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले सङ्घ, प्रदेश र स्थानीय तहका सरकार, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, नागरिक समाज, सञ्चारमाध्यम, विकास साझेदार तथा आमनागरिकलाई आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्न आग्रह गर्नुभएको हो ।
यस वर्ष ‘प्रविधिको सही प्रयोग र सजगता: मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइँदैछ । मन्त्री वादीले प्रविधिको तीव्र विकाससँगै मानव बेचबिखनका स्वरूप, माध्यम र चुनौतीसमेत परिवर्तन भइरहेकाले प्रविधिको सुरक्षित तथा जिम्मेवार प्रयोग, जनचेतना अभिवृद्धि र अन्तर निकाय समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले तीनै तहका सरकारको स्पष्ट भूमिका र जिम्मेवारी, कार्यान्वयन योजनासहित मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभएको छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई समयानुकूल संशोधन गर्न विधेयक संसद्मा विचाराधीन रहेको र अन्य आवश्यक कानुनी सुधारका प्रक्रिया अघि बढिरहेको उहाँले बताउनुभएको छ ।
प्राकृतिक विपद्का समयमा विस्थापन, असुरक्षा, गरिबी तथा रोजगारीको अभावका कारण महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समुदाय मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिममा पर्नसक्ने भएकाले यसतर्फ थप संवेदनशील र प्रभावकारी रूपमा क्रियाशील हुनुपर्नेमा मन्त्री वादीले जोड दिनुभएको छ ।
भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । उहाँले मानव बेचबिखन तथा ओसारपसारलाई मानव अधिकार, स्वतन्त्रता र व्यक्तिको मर्यादामाथिको गम्भीर आक्रमणका रूपमा उल्लेख गर्दै यसको रोकथाम तथा नियन्त्रण, पीडित तथा प्रभावितको उद्धार, संरक्षण, पुनःस्थापना, न्यायमा पहुँच तथा आर्थिक सशक्तीकरणका लागि सरकारले कानुनी, नीतिगत तथा संस्थागत सुधारलाई निरन्तर अघि बढाइरहेको जानकारी दिनुभएको छ ।
उहाँले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन सरकार, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारमाध्यम, विकास साझेदार र समुदायबीच निरन्तर सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको बताउँदै सबैलाई यस अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ ।










प्रतिक्रिया राख्नुहोस्