राहत र उद्धारका लागि ७० बढी अन्तर्राष्ट्रिय संस्थालाई अपिल गरेका छौँ : अध्यक्ष श्रेष्ठ
पोखरा । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले देशमा ठूलो विपत्ति आएकाले राहत तथा उद्धारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सहयोगको आह्वान गरिएको बताउनुभएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक साधारणसभाको आज (शनिबार) पोखरामा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि राज्यलाई ठूलो आर्थिक स्रोत आवश्यक पर्ने अवस्था रहेको बताउनुभयो । महासङ्घले विपत्तिमा सहयोगका लागि अन्तर्राष्ट्रिय क्षेत्रका ७० भन्दा बढी सङ्घसंस्था तथा निकायलाई पत्राचार गरिसकेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले विदेशमा रहेका उद्योग वाणिज्य सङ्घहरूसँग समेत सहयोगका लागि आग्रह गरिएको जनाउनुभयो ।
अध्यक्ष श्रेष्ठले जलवायु परिवर्तन तथा वातावरणीय असन्तुलनका कारण नेपालमा विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै दीर्घकालीन रूपमा विपद् न्यूनीकरणका लागि पूर्वतयारी र योजनाबद्ध विकासमा जोड दिनुपर्नेमा जोड दिनुभयो । नदी तथा खोला किनारमा अव्यवस्थित बस्ती विस्तार, हिमताल तथा प्राकृतिक विपत्तिको जोखिमलाई गम्भीरतापूर्वक लिनुपर्ने उहाँको भनाइ थियो । चीनमा रहेको एउटा हिमताल फुट्दा समेत ठूलो क्षति हुनसक्ने अवस्था देखिएको उल्लेख गर्दै उहाँले नेपालले यस्ता सम्भावित जोखिमबारे समयमै अध्ययन र तयारी गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले निजी क्षेत्र अहिले चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै व्यवसायीलाई निरुत्साहित गर्नेभन्दा लगानी र उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो । निजी क्षेत्रले राज्यका कानुन तथा नीति पालना गर्दै सुशासनमा विश्वास गर्ने भएकाले सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँको भनाई थियो ।
दुई दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन उद्घाटन तथा छलफलका कार्यक्रम रहेको छ भने आइतबार नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । सङ्घको आगामी दुईवर्षे कार्यकालका लागि अध्यक्ष पदमा चार जनाबीच प्रतिस्पर्धा हुँदैछ । सङ्घको अध्यक्ष पदका लागि बलराम आचार्य, अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र शोभा गौतमले उम्मेदवारी दिनुभएको छ । वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी र दिनेशचन्द्र बास्तोलाबिच प्रतिस्पर्धा हुँदैछ ।
सङ्घको २७ सदस्यीय नयाँ कार्यसमितिका लागि आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ, नेपाल पर्यटन बोर्डका केन्द्रीय सदस्य सन्तोष पोखरेल लगायतले विपत्तिको समयमा राहत तथा उद्धार अभियानमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्