कुशको शव बनाएर परिवारका चार जनाको अन्त्येष्टि
नवलपरासी । भोटेकोसीमा आएको त्यो भयावह बाढीले एकै परिवारका चार सदस्यलाई एकसाथ बगायो। घरमा बाँकी रह्यो त केवल सम्झना, पीडा र फर्केर आउने आशा।

विदुर नगरपालिका १ सोलेकी सुमित्रा शर्मा, उनकी सासु, जेठो ससुरा र देवरलाई भोटेकोसीमा आएको बाढीले बेपत्ता बनायो। दिन बित्दै गए। खोजी जारी रह्यो। तर उनीहरू कहाँ छन् भन्ने कुनै खबर आएन।
अन्ततः परिवारले पनि मनलाई कठोर बनाउनुपर्यो। जीवित भेटिने सम्भावना कमजोर हुँदै गएपछि चारै जनाको कुशको शव बनाएर वैदिक विधिअनुसार अन्त्येष्टि तथा काजकिरिया सुरु गरिएको छ।
तर सुमित्राकी आमा चन्द्रकला शर्माको मनले भने अझै छोरीलाई मृत स्विकार्न सकेको छैन। सुरक्षा निकायले बाढीमा बेपत्ता भएकाहरूको खोजी गरिरहेको छ। उद्धार टोलीले नदी र आसपासका क्षेत्रमा खोजी गरिरहेको दृश्य टेलिभिजन र सामाजिक सञ्जालमा देखिन्छ। कतैबाट कसैलाई जीवितै उद्धार गरिएको खबर आउँदा चन्द्रकलाको मनमा फेरि एउटा झिनो आशा पलाउँछ।
कतै मेरी छोरी पनि भेटिन्छे कि? यही एउटा प्रश्नले उनलाई अझै बाँधेर राखेको छ । भदौ ५ गतेको त्यो फोन कल चन्द्रकलाको मनमा अहिले पनि ताजा छ। उनले छोरी सुमित्रालाई माइती आउन भनेकी थिइन्। “माइता आउँ भनेकी थिएँ। माइत आएको भए सायद यो दुःखद घटना हुँदैनथ्यो कि भन्ने कुराले सताइरहेको छ।”
छोरीसँगको अन्तिम कुराकानी सम्झँदा उहाँको स्वर भारी हुन्छ। अनि फेरि उहाँ आफैँलाई सम्झाउनु हुन्छ अझै पनि खोजी भइरहेको छ, मानिसहरू जीवितै भेटिएका छन्, त्यसैले सुमित्रा पनि कतै जीवितै भेटिन सक्छे। “अझै पनि मानिसहरू भेटिँदा छोरी पनि भेटिन्छे कि जस्तो लाग्छ।” यही झिनो आशाले एउटी आमालाई छोरीको बाटो हेर्न बाध्य बनाइरहेको छ ।
सुमित्राका श्रीमान् प्रमोद पौडेल वैदेशिक रोजगारीका सिलसिलामा लण्डनमा रहनु भएको थियो। परिवारमाथि विपत्ति आइपरेको खबर पाएपछि उहा नेपाल फर्किनुभयो ।
नेपाल आएपछि उहाँले श्रीमती, आमा, भाइ र परिवारका अन्य सदस्यको खोजीका लागि सम्भव भएसम्म सबै ठाउँमा धाउनुभयो। सुरक्षा निकायसँग समन्वय गरे। आफन्त र चिनजानका मानिससँग सम्पर्क गर्नुभयो ।
तर दिनहरू बित्दै गए, खोजीको दायरा फराकिलो हुँदै गयो, तर सुमित्रासहित बेपत्ता भएका परिवारका चार सदस्यबारे कुनै सकारात्मक खबर आएन।
अन्ततः परिवारले मन नचाहँदा नचाहँदै वैदिक प्रक्रिया अघि बढायो।
शरीर भेटिएन । कुशको शव बनाएर अन्त्येष्टि गरियो । आफन्तजनले काजकिरिया सुरु गरे। परम्पराअनुसार मृत्यु संस्कारका कर्म भइरहे । तर चन्द्रकलाको मनमा भने छोरीको मृत्युको स्वीकारोक्ति अझै आएको छैन । सुमित्रा श्रीमानसँगै लण्डन जाने प्रक्रियामा रहेकी थिइन ।
सुमित्राका आफ्नै ससुरा सरकारी विद्यालयका सेवा निवृत्त प्रधानाध्यापक हुनुहुन्थ्यो। सेवा निवृत्त भएपछि गाउँमा पुरोहितको काम पनि गर्नुहुन्थ्यो।
बाढी आएको दिन उहाँ पूजापाठका लागि पल्लो गाउँ जानुभएको थियो। त्यसैले परिवारका अन्य सदस्यलाई बाढीले बगाउँदा उहाँ भने बाँच्न सफल हुनुभयो।
तर आफ्नै परिवारका चार सदस्यलाई एकै पटक गुमाउनुपरेको पीडा कति गहिरो होला, त्यो शब्दमा व्यक्त गर्न कठिन छ।एउटा घरमा एकै पटक चार जनाको ठाउँ खाली भएको छ । एउटि आमाले छोरी गुमाएकी छन् । श्रीमानले आमा भाइ श्रीमती गुमाएका छन् । पौडेल परिवारका लागि यो भन्दा ठूलो बज्रपात अरू केही भएन ।
सुमित्राको माइती पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१५ हो। अहिले उनको माइती बर्दघाट नगरपालिका–१४ चौपत्तामा बस्दै आएका छन्। चौपत्ताको त्यो घरमा अहिले छोरीको सम्झना मात्रै छैन, एउटा प्रतीक्षाको जिजीविषा पनि छ।
सायद बाढीले बगाएर टाढा पुर्याएकी छोरी कुनै अपरिचित ठाउँमा पुगेर पनि बाँचिरहेकी होली। परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरिसकेको छ। समाजले उनलाई मृत मानेर काजकिरिया गरिरहेको छ। तर एउटी आमाको मनले अझै अन्तिम निर्णय गरेको छैन।जीवित देख्न नपाए पनि जे जस्तो अवस्था छ एकपटक अनुहार हेरेर अन्तिम बिदाई समेत गर्न नपाउँदा एउटि आमा र उनका श्रीमान् बिछिप्त बनेका छन् ।
बाढीले उनको छोरीलाई कहाँ लग्यो, त्यो थाहा छैन।
तर आमाको आशा भने अझै बगेको छैन।
मानिसहरू जीवितै भेटिएको हरेक खबरसँगै चन्द्रकलाको मनमा फेरि एउटै आवाज उठ्छ
सायद मेरी सुमित्रा पनि भेटिन्छे कि








प्रतिक्रिया राख्नुहोस्