भोटेकोशी बाढीमा गोरखाका ७२ जना सम्पर्कविहीन, ७ जनाको शव भेटियो
गोरखा । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रमा रहनुभएका गोरखाका ७२ जना नागरिक अझै सम्पर्कविहीन हुनुहुन्छ । काम र तीर्थयात्राका लागि विभिन्न ठाउँमा पुग्नुभएका गोरखाका नागरिक भदौ १० गते बुधबार बिहान आएको बाढीपछि परिवार र स्थानीय तहको सम्पर्कमा आएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय, गोरखाका अनुसार सबैभन्दा बढी पालुङटार नगरपालिकाका ३५ जना, सहिद लखन गाउँपालिका ७ जना, अजिरकोट गाउँपालिकाका ६ जना, धार्चे गाउँपालिकाका ४ जना, भीमसेन थापा गाउँपालिकाका ३ जना, बारपाक सुलिकोट गाउँपालिकाका ६ जना, सिरानचोक गाउँपालिकाका ४ जना, आरुघाट गाउँपालिकाका ३ जना, गोरखा नगरपालिकाका ३ जना र गण्डकी गाउँपालिकाका १ जना सम्पर्कविहीन रहेका छन् ।
सम्पर्कविहीन भएकामध्ये पाललुङटार नगरपालिका–५ का केदार पण्डित, तारा रानाभाट, सुजता कौडाल, कमला देबकोटा, पालुङटार–७ की सुमी कुमाल, पालुङटार नगरपालिका–६ का यम बहादुर थापा र गोरखा नगरपालिका–४ की हसिना खातुनको शव फेला परेको प्रहरीको भनाई छ । सम्पर्कविहीन हुनुभएका ७९ जनामध्ये ७ जनाको मात्र शव भेटिएको हो ।
सबैभन्दा बढी पालुङटार नगरपालिकाका नागरिक तीर्थयात्रामा क्रममा बाढीमा परेका थिए । ठाँटी पोखरीबाट रसुवाको गोसाईंकुण्ड यात्राको लागि गएको सवार बस भोटेकोशीको बाढीमा परेको थियो । बसमा रहेका ३६ जनामध्ये ६ जनाले झ्यालबाट हामफालेर ज्यान जोगाउनुभएको र बाँकी यात्रुको अवस्था लामो समयसम्म अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।
अन्य स्थानीय तहका नागरिक भने रसुवाका विभिन्न जलविद्युत् आयोजना, होटेल, ट्रेकिङ तथा निर्माण क्षेत्रमा काम गर्दै आउनुभएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्