तपाईँ सुन्दै हुनुहुन्छः

सकियो यो वर्षको भैरव– कुमारी जात्रा !

दोलखा । ऐतिहासिक सांस्कृतिक सहर दोलखामा गाईजात्राको भोलिपल्ट (भदौ १४ गते शनिवार) बाट पाँच दिनको लागि सुरु भएको भैरव– कुमारी जात्रा शुक्रवार बिहान सकिएको छ । 

मानिस खाने देवीलाई तान्त्रिक विद्याबाट नियन्त्रण गरेपछि दोलखामा सुरु भएको भैरव– कुमारी जात्रा पाँच दिनमा दोलखा बजारको विभिन्न मठ– मन्दिर रहेको स्थानमा प्रदर्शन गरिँदै आएको छ । 

दोलखा सहरमा मात्र प्रदर्शन गरिने भैरव– कुमारीको दर्शन र पूजा गर्दा सन्तान प्राप्ति, रोगव्याधि नलाग्ने र सोचेको काम पुरा हुने जनविश्वास रहँदै आएको स्थानीय शिवजी प्रधान बताउँछन् । जात्राको अवधिमा मनोकांक्षा पुरा होस भन्दै महिलाहरू व्रत समेत बस्ने गरेको स्थानीयको भनाई छ । जात्राको सुरुवात कैलेदेखि भयो भन्ने एकिन तिथि थाहा नभएपनि दोलखामा किराँत राज्यकालबाटै यो जात्राको सुरुवात भएको जनविश्वास रहेको संस्कृतका अध्यता स्थानीय शान्तकृष्ण श्रेष्ठले बताए । केही– केहीले भने मल्लकालीन राजा हरसिंह देवको पालोबाट भैरव– कुमारी जात्रा सुरु भएको विश्वास गर्दै आएको पनि श्रेष्ठले बताए । 

किंवदन्ती अनुसार दोलखा राज्यमा दुङ्गल टोलका सिन्दु र विन्दु नाम गरेका दुई तान्त्रिक दाजुभाइ थिए । उनीहरू दैनिक तामाकोशी नदिमा गएर त्यहाँको जल (सुद्ध पानी) भीमेश्वर मन्दिरमा ल्याई चढाउँथे । यो क्रममा तान्त्रिक दाजु– भाइले तामाकोशी किनारमा तीन दिदी– बैनी खेलीरहेको देखे । तान्त्री दाजु– भाइले उनीहरू भगवती भएको थाहा पाएपछि उनीहरुलाई आफ्नो विद्याबाट बसमा पारेर दोलखा बजारमा ल्याए । 

दोलखा बजारमा ल्याएपछि उनीहरूकै चाहना अनुसार जेठी त्रिपुरा सुन्दरी भगवतीलाई दोलखामै, माइली कालिन्चोक भगवतीलाई गौरीशङ्कर हिमाल देखिने कालिन्चोकमा र कान्छी बालकुमारी भगवतीलाई जेठी दिदीसँग दोलखामै राखियो ।

जेठी र कान्छी दिदी– बैनी आएपछि दोलखामा हरेक दिन मानिस हराउन थाले । मानिस हराउने रहस्य खोज्दै जाँदा चुलबुले स्वभावको बालकुमारीले मानिस खाने गरेको थाहा पाएपछि तान्त्रिकले बालकुमारीलाई नियन्त्रणमा लिने उपाय खोजे । यही क्रममा तान्त्रिक भाइ विन्दुले बालकुमारी स्थान (कोविदेउ) मा सिढी सहितको एउटा ठूलो खाल्टो बनाएर बालकुमारीलाई फकाएर उनीसँग लुकामारी खेल्न थाले । 

लुकामारी खेल्दा विन्दुले तान्त्रिक विद्याबाट आफूलाई पिठोको सिक्री बनाएर बाँधे भने बालकुमारीलाई फलामको सिक्रीले बाँधिदिए । अनि आफु पिठोको सिक्री फुकाएर खाल्डोबाट माथि निक्ली बालकुमारीलाई सोही खाल्डोमा थुनिदिएको किंवदन्ती प्रचलनमा रहेको स्थानीय ज्येष्ठ नागरिकहरूको भनाई छ । 

बालकुमारीलाई खाल्डोमा थुनेपछि उनी धेरै रुन लागिन र तान्त्रिकले वर्षमा तीन दिन भैरवलाई अघि लगाएर बजार जान अनुमति दिए । बालकुमारीलाई एक्लै पठाउँदा फेरी मानिस खाने डरले भैरवलाई अघि लगाएर मात्र जान दिइएको विश्वास गरिन्छ । सोही अनुसार भैरव– कुमारी जात्रा सुरु भएको स्थानीयको भनाई छ । भैरव भीमेश्वरको प्रतीक (महादेव) हुन् भने कुमारी उनै बालकुमारी हुन् । यो जात्राको क्रममा भैरव– कुमारी सहित १४ जना सेनामेना समेत हुने गरेका छन् । सुरु– सुरुमा तीन दिन प्रदर्शन गरिने यो जात्रा अहिले पाँच दिन प्रदर्शन गर्न लागिएको स्थानीय भरत नारायण प्रधानले बताए । 

किंवदन्ती अनुसार भैरव– कुमारी जात्रा पहिलो दिन भूतले हेर्ने, दोस्रो दिन देवी देवताले हेर्ने, तेस्रो र चौथो दिन आगन्तुकले हेर्ने र पाँचौँ दिन दोलखाका स्थानीयले हेर्ने गरिन्छ । तर अहिले भने हरेक दिन स्थानीय तथा आगन्तुक सबैले हेर्ने गरेको जोशीको भनाई छ । भैरव– कुमारी जात्रामा भैरव, कुमारी र अन्य सेनामेना गरी १४ जनानै शिवभक्ति थरका मानिसमात्र नाच्नुपर्ने प्रचलन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button